कास्कीमा एमालेको अभियान: पालिकामा जनसंख्याको ६ प्रतिशत र वडामा ३ प्रतिशत पार्टी सदस्य पुर्याउने लक्ष्य

पोखरा ।
संगठन सुदृढीकरण र पार्टी सदस्यका विस्तारका लागि नेकपा (एमाले) कास्कीले शुक्रबारदेखि वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ सुरुवात गरेको छ । टोलसम्म पार्टी कमिटी निर्माण, सदस्यता नवीकरण तथा वितरण गरी संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको योजना अनुरुप ३ महिना लामो अभियान थालिएको हो ।
नेता तथा कार्यकर्तालाई अभिमुखीकरण दिएर अभियान सुरुवात गरिएको हो । एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम उद्घाटन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुपअघि बढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अभियान सञ्चालन गरेको जानकारी दिए ।
उनले केन्द्रको वार्षिक कार्ययोजनाको आधारमा प्रदेश, जिल्ला, पालिका र वडा केन्द्रित अभियान सञ्चालन गर्न सुझाव दिए । पोखरेलले मिसन ०८४ मा पार्टीको एकल वहुमत प्राप्त हुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने र घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिइने बताए ।
‘हरेक पालिकामा कुल जनसंख्याको ६ प्रतिशत र वडामा ३ प्रतिशत पार्टी सदस्य पु¥याउने लक्ष्यसहित पार्टीको संगठनात्मक जीवन पद्धतिलाई व्यवस्थित गरिनेछ,’ उनले भने, ‘अभियानको क्रममा टोलतहसम्म पार्टी कमिटीको अधिवेशन गर्नुका अलवा हरेक टोलमा कम्तीमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गरिनेछ । पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्न हरेक वडामा १० युवा नेतृत्वका लागि तयार पार्ने योजना छ ।’
उनले टोल कमिटी बनाउन र चलाउन नसकेको अवस्थामा हरेक टोल विकास संस्थामा पार्टी कमिटी बनाउने योजना सुनाए । महासचिव पोखरेलले वडा कार्यालयलाई व्यवस्थित र जन सम्पर्क विन्दु बनाएर जनतासँगको सम्पर्कलाई जीवन्त बनाइने जानकारी दिए । जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी सबैका घर घरमा पुग्ने उल्लेख गर्दै उनले स्थानीय चासो र जनसरोकारका विषय पहिचान गरी आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने जनाए ।
पार्टी सम्बद्ध सबै जनसंगठनलाई आधारभूत तहका जनसमुदायसम्म पु¥याएर सदस्यता व्यापक रुपमा विस्तार गर्न सकेमात्र मिसन ८४ मा बहुमत ल्याउन जनमत विस्तार हुने तर्क गर्दै उनले पार्टीको नेतृत्व र तीन तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्नुपर्ने सुझाव दिए ।
सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्नुपर्ने खाँचौ औंल्याए । उनले सबै तहका कमिटी र जनप्रतिनिधिले आ आफ्नो तहको प्रचार डेस्क स्थापना गरी प्रचारात्मक काम अघि बढाउन सुझाव दिए ।
पार्टीका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आन्तरिक एकता सुदृढ बनाउन सकेमात्र पार्टीलाई निर्णायक राजनीतिक शक्ति बनाउन सकिने विचार राखे । पार्टीलाई निर्णायक शक्ति बनाउन ५१ प्रतिशत मत ल्याउनुपर्ने उल्लेख गर्दै उनले पार्टीको युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने जानकारी दिए । २०८४ सालसम्ममा संघीय लोकतान्त्रिक गणतन्त्र वहाली हुँदा जन्मेका व्यक्ति मतदाता बन्ने चर्चा गर्दै उनले ३३ लाख युवा पुस्तालाई समेट्नका लागि युवा विद्यार्थीले कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
एमाले सचिव पद्मा अर्यालले एमाले भित्रका आन्तरिक समस्या र असन्तुष्टिलाई नमिलाएसम्म राष्ट्रिय शक्ति निर्माण गर्न नसकिने तर्क गरिन् । उनले भोलिको विजयका लागि आजैदेखि आन्तरिक एकता र सुदृढ संगठन चाहिने बताइन् । समूह बन्दीले राज्य शक्ति हासिल गर्न कठिनाई भएको जानकारी दिदै उनले एमालेमा विचार र नेतृत्वमा विवाद नभएकाले तल्लो तहमा कार्यकता बाँडिन जरुरी नभएको उल्लेख गरिन् ।
पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वडा केन्द्रीत पार्टी निर्माण अभियानले वडा तथा टोल कमिटीसम्मका कार्यकर्ताको मनोविज्ञानलाई बुझेर पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधिले पार्टी संसदीय दलमार्फत जनताको काम गर्नुपर्ने बताए ।
उनले पोखरा महानगरपालिकामा केन्द्रमा भएको सहमति अनुसार पार्टी संयन्त्रमार्फत काम नभएको उल्लेख गरे । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले वडा केन्द्रीत पार्टी निर्माण अभियानका बारेका बोलेका थिए । कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्यहरु शंकरविरही गुरुङ, तारापति सुवेदी, जीवन दाहाल, कास्की अध्यक्ष शिवहरि ढुंगाना लगायतले साँस्कृतिक प्रस्तुति राखेका थिए ।
तपाईको प्रतिक्रिया