पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात अधिकारी र सक्षम रानाभाटको जोडीले जित्यो ५० हजार

पोखरा । पोखरामा शनिबार फोहोर संकलन दौड प्रतियोगिता आयोजना गरिएको छ । ‘स्वच्छ देश, हाम्रो परिवेश’ भन्ने नाराका साथ फोहोर संकलन दौड गरिएको हो । पालिखेचोक स्थित प्रतिभा माविमा भेला भएका ३ हजार बढी युवालाई सहभागी गराएर सहरको फोहोर संकलन गर्दै दौड्ने प्रतियोगिता आयोजना गरिएको हो ।
दौडमा २ जनाको जोडी बनाएर फोहोर संकलन गर्नुपर्ने नियम थियो । १ घन्टाको दौडमा प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर सबैभन्दा धेरै फोहोर संकलन गर्नेलाई पुरस्कार वितरण गरिएको फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताइन् । विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए । प्रतियोगितामा सौगात अधिकारी र सक्षम रानाभाट प्रथम हुँदै ५० हजार रुपैयाँ हात पारे । उनीहरुले २०.३४ केजी फोहोर संकलन गरे । रिजन थापा र अंकित विके २०.३३ केजी फोहोर संकलन गर्दै दोस्रो भए । उनीहरुले २५ हजार रुपैयाँ पाए । जीवन र जेम्स रानाले १७ केजी फोहोर संकलन गर्दै तेस्रो भए । उनीहरुले १५ हजार रुपैयाँ हात पारे । कार्यक्रममार्फत १ हजार ५० किलो फोहोर संकलन गरिएको थियो ।
मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न संघ, संस्थाको सहकार्यमा भएको दौड गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुआत गरे ।
मुख्यमन्त्री पाण्डेले यस्ता दौडले आम नागरिकमा फोहोर नगर्नका लागि जागरण ल्याउन सहयोग पुग्ने बताए । सहरमा देखिने फोहोरमात्र नभएर नागरिक भित्रको नकारात्मक सोचलाई बदल्न पनि यस्ता कार्यक्रमले सघाउने उनको भनाइ छ । फोहोर संकलन दौडले आम नागरिकमा सरसफाइको महत्व अझै बढी बुझ्न र व्यवहारमा लागूगर्न प्रेरित गरेको पनि उनले बताए ।
‘सडकमा देखिएको फोहोरमात्र होइन, हरेक नागरिकले आफूभित्रको नकारात्मक सोचलाई पनि सफा गर्न जरुरी छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सकारात्मक सोचले पनि वातावरण सफा राख्न सघाउँछ ।’
सबै नागरिक मिलेर सरसफाइलाई दैनिकीको हिस्सा बनाउँदा स्वच्छ पोखरा, स्वच्छ गण्डकी प्रदेश र सिंगो देशलाई नै स्वच्छ बनाउन सकिने उनले बताए । वातावरणीय प्रभाव र पर्यावरणमा देखिएका असर न्यूनीकरण गर्नु, प्रदूषणरहित वातावरण सिर्जना गर्नु सबैको दायित्व रहेको उनको भनाइ छ ।
‘अब सफाइ गर्नुभन्दा फोहोर हुन नदिने अभियानमा सबै लाग्नुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘फोहोर सफा गर्नेभन्दा पनि फोहोर नै हुन नदिनेतर्फ ध्यान दिनुपर्छ । बाटोमा फोहोर फ्याकेर झ्यालबाट हेरेर बस्दै महामनगरलाई गाली गर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’
प्रतिभा माविका प्राचार्य किरण सापकोटाले युवा पुस्तामा हरियालीको महत्व, जलवायु परिवतर्न र स्वच्छ सहरबारे जानकारी दिलाउनका लागि विभिन्न निकायसँगको सहकार्यमा कार्यक्रम गरिएको उल्लेख गरे ।
मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए । वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले दौड गरिएको उनको भनाइ छ ।
५ किमी दौड सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर संकलन दौड पालिखेचोक, महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुन प्रतिभा माविमा पुगेर समापन भएको हो ।
फाउन्डेसनले लामो समयदेखि ‘स्वच्छ देश हाम्रो परिवेश’ भन्ने नाराका साथ सामाजिक सचेतना र पर्यावरणका क्षेत्रमा कार्यक्रम गर्दै आएको छ । हरियाली प्रवद्र्धन, जलवायु परिवर्तन र स्वच्छ सहरका निम्ति ३ हजारभन्दा बढी युवाको सहभागितमा फोहोर संकलन दौड आयोजना गरिएको फाउन्डेसनले बताएको छ ।
फाउन्डेसनका अध्यक्ष खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आम नागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताए । वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले पोखरामा पनि दौड गरिएको खनालको भनाइ छ ।

तपाईको प्रतिक्रिया