निजी क्षेत्रका समस्याबारे विमर्श

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले सरोकारवालाको सहभागितामा उद्योग वाणिज्य र पर्यटन व्यवसायको वर्तमान चुनौती र समाधानसम्बन्धी अन्तर्क्रिया गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले अहिले उद्योग, व्यवसायका लागि असहज अवस्था भए पनि समय क्रमले सहजता ल्याउने दाबी गरे ।
वर्तमान अवस्थामा उद्योगी व्यवसायीका समस्या र पीडा धेरै भएको उल्लेख गर्दै मन्त्री बस्यालले सबै सरोकारवालाले समन्वय र समन्वय गरी उद्योग, व्यवसायमा परेको असरलाई कम गर्नुपर्ने बताए । ‘असहज अवस्था सदाका लागि रहन्न,’ उनले भने, ‘सबै समस्या भर्खरै समाधान गर्ने जादूको छडी प्रदेश सरकारसँग छैन । ढुक्क भएर व्यवसाय गर्नुस्, विस्तारै सहज अवस्था आउँछ ।’
मन्त्री बस्यालले सरकारले उद्योग, व्यवसायको प्रवद्र्धनमा ध्यान दिएको दाबी गरे । निजी क्षेत्रलाई परेको असरलाई सम्बोधन गर्न संघीय सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै उनले उद्योग, व्यवसायलाई परेको असर कम हँुदै गएको जनाए ।
विद्यमान नीति र कानुनका कारणले उद्योग व्यवसायको दर्ता तथा नवीकरणका लागि कठिनाई भएको उल्लेख गर्दै मन्त्री बस्यालले उद्योगी, व्यवसायीको सहजताका लागि औद्योगिक व्यवसाय ऐन, पर्यटन नीति लगायतका कानुन ल्याउन लागेको जानकारी दिए । प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेका ८ विधेयकमध्ये ५ उद्योग र पर्यटन मन्त्रालयसँग सम्बन्धित भएको उनले उल्लेख गरे । उनले कास्कीको पुंडीटार र नवलपुरको लोकाहाका औद्योगिक क्षेत्र निर्माणको लागि पहल भएको जानकारी दिए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले राजनीतिक स्थायित्व र स्थिर सरकार नहँुदा सबभन्दा बढी प्रभावित भएको बताए । उनले राजनीतिक स्थायित्वको अभावका उद्योग व्यवसायको प्रवद्र्धन हुन नसकेको चर्चा गरे । समग्रमा ५७ प्रतिशत निजी क्षेत्रको लगानी भएको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण बनाउन ध्यान दिने बताए । उनले सबै उद्योग व्यवसाय दर्ता भएको खण्डमा नेपालको प्रतिव्यक्ति आयलाई दोब्बर बनाउन सकिने दाबी गरे ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय उपाध्यक्ष सन्तोष पाण्डेले नेपाल राष्ट्र बंैक र अन्य बैंकबीच समन्वय भए ऋण पाउन सहज हुने सुनाए । खाली उपभोक्तामुखी बन्दा उत्पादनमा ध्यान नपुगेको उल्लेख गर्दै उनले आयातमुखी अर्थतन्त्रमा निर्भर हुन नहुने तर्क गरे । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले उद्योग व्यवसायको प्रवद्र्धन गर्नुभन्दा पनि कमजोर बनाउने खेल भएको आरोप लगाए । उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नु आवश्यक रहेको औंल्याए ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले उद्योग व्यवसाय क्षेत्रका लागि निर्माण भएका योजनालाई कार्यान्वयन गर्न सरकारसँग माग गरे । पोखरा उद्योग वाणिज्य संघ महासचिव शोभा गौतमले देशको मेरुदण्डको रुपमा अर्थतन्त्रलाई सुदृढ गर्नुपर्ने बताइन् । उनले समय सापेक्ष सुधारसहित धैर्यतापूर्वक व्यवसाय गरेमा सफलता पाउन सकिने उल्लेख गरिन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य भाइचन्द्र श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोला, पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, पोखरा चेम्बरका निवर्तमान अध्यक्ष यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्य, महासचिव गोकर्ण अधिकारी, कोषाध्यक्ष जीवन ढुंगाना, सहकोषाध्यक्ष बोधराज सुवेदी, सल्लाहकार विष्णुप्रसाद बास्तोला, संस्थापक कोषाध्यक्ष कमल बस्नेत, स्याङ्जा चेम्बर अफ कमर्सका सचिव ऋषिराम पौडेल, कोषाध्यक्ष सुन्दर श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्स अध्यक्ष प्रकाश न्यौपाने, गल्याङ चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष गंगा श्रेष्ठ, कार्यवहाक अध्यक्ष रुमलाल कँडेल, फर्निचर व्यवसायी थमनारायण अर्याल लगायतले निजी क्षेत्रका समस्याबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया