लीलाभक्त आचार्य : धर्म, समाज र शिक्षाको उज्यालो दीप

पोखरा । धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा उत्तिकै सक्रिय । धन हुने सबैको कहाँ मन फराकिलो हुन्छ र ? लीलाभक्त उनै व्यक्ति हुन् जोसँग पर्याप्त धन थियो । अनि दान गर्ने मन पनि । शिक्षा, स्वास्थ्य, धर्म एवं अन्य सामाजिक कार्यमा सहयोग चाहियो कि सबैजसोले सम्झिने नाम हो लीलाभक्त आचार्य । उनै सामाजिक अगुवा लीलाभक्तको ९६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
शताब्दी पुग्न लागेको उमेरमा पनि युवाझैं हँसिलो स्वभाव र लाली भरिएको अनुहार भएका आचार्य पोखरेलीमाझ ‘भीष्म पितामह’ र ‘दानवीर’ का रुपमा परिचित थिए । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पोखराको शैक्षिक र धार्मिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका आचार्यको जन्म १९८७ सालमा भएको थियो । २० वर्षको उमेरमै राजनीतिमा प्रवेश गरेका उनले राणा शासनविरुद्ध जनतालाई मुक्ति दिलाउने सपना बोकेर श्रीभद्र शर्मा, टेकनाथ बराल, कानोबाबा, टीकाराम बराल, हुमनाथ बराल, पण्डित ऋषिकेश पराजुली, डिठ्ठा भक्तबहादुर भट्टराईजस्ता व्यक्तित्वसँग संगत गरे ।
प्रजातन्त्र आएपछि शैक्षिक लहर चलेसँगै आचार्यले टेकनाथ बरालसँग अंग्रेजी भाषा सिक्न थाले । २०१४ सालमा तालबाराही स्कुल स्थापना गराए भने २०३१ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । २०१९ सालमा पार्दी मावि स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका थियो । २०१५ सालमा विन्ध्यवासिनीमा रात्रि पाठशाला खुलेपछि लीलाभक्तको शैक्षिक ध्यान त्यसतर्फ केन्द्रित भयो ।
२००७ सालमा प्रजातन्त्रको उदय भएपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका आचार्यले २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतसहित विजय प्राप्त गरेपछि पोखरामै रहेर नेपाली कांग्रेस क्षेत्र नम्बर ९९ को नेतृत्व गरे । उनले विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको आर्मी क्याम्पलाई सो क्षेत्रबाट हटाउन प्रेम चैतन्य ब्रह्मचारीले गरेको अनसनलाई सफल पार्न सहयोग पुर्याएका थिए ।
२०१४ सालमा भद्रअवज्ञा आन्दोलनमा मीनबहादुर गुरुङ, तर्कबहादुर कुँवर, थानेश्वर पोखरेल, योगेन्द्रमान शेरचनसँगै उनी जेल परे । २०१७ सालमा राजा महेन्द्रको पश्चगामी कदमपछि आचार्यलाई पुन पक्राउ गरी बन्दीपुर जेल चलान गरियो ।
आचार्यले सरकारी कार्यालयहरुलाई पार्दीमा सार्ने विचार गरेर तत्कालीन अञ्चलाधीश भूदेव राईबाट केही कार्यालय भवनको शिलान्यास गराए । त्यसका लागि करिब १ सय ६५ रोपनी जग्गा निशुल्क उपलब्ध गराइएको थियो । त्यसैगरी राष्ट्रबैंक चोकबाट मुस्ताङचोकसम्मको बाटो खोल्न जग्गाधनीलाई सहमत गराउने काम पनि लीलाभक्तले गरेका थिए ।
२०२१ सालपछि पञ्चायती व्यवस्थाका कट्टर विरोधी आचार्यले सुवर्णसम्शेर राणाको उपयोगको नीति अवलम्बन गर्दै पञ्चायतको विभिन्न पदमा रहेर नेपाली कांग्रेसलाई सहयोग गर्ने विचार राखे । सोहीअनुरुप २०२१ सालमा पोखरा वडा नम्बर ९ को वडा अध्यक्षमा निर्वाचित भए । त्यसैबेला महेन्द्रपुल नयाँबजारमा महेन्द्र प्राविको स्थापना गरे । आचार्य २०२५ सालमा कास्की जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए भने २०२९ सालमा अञ्चल सभामा ।
२०३६ सालमा बहुदलीय व्यवस्थाका पक्षधर बनेका आचार्य २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य पदको उम्मेदवार बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको उदयलाई उनले सहर्ष स्वीकार गरे । २०४३ देखि २०४६ सालसम्म प्रौढ संगठनको गण्डकी अञ्चल सभापति भई प्रौढहरूको हकहितको संरक्षणमा उनी सक्रिय भए ।
राममन्दिर पार्दीको २०४० देखि हालसम्म संस्थापक अध्यक्ष रहेका आचार्यले मन्दिर परिसरको निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । श्री राममन्दिर पार्दी विरौटाका लागि २०५० तिर पटकपटक गरी करिब सात लाख मूल्य पर्ने जग्गा प्रदान गरी धर्मशाला निर्माण गरेका छन् ।
२०५६ सालमा सनातन धर्म सेवा समिति पोखराबाट प्राप्त सनकमान पुरस्कारमा त्यति नै रकम थप गरी मुक्तिनाथ विकास समितिलाई प्रदान गरे । २०५४ देखि मुक्तिनाथ विकास समितिको अध्यक्ष र २०५६ सालदेखि छ वर्ष गुप्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष बनेका आचार्यले शैक्षिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान पुर्याएको लेखक रवीन्द्र माकाजु बताउँछन् ।
आचार्यले २०३० सालमा कृष्ण मन्दिर स्थापना गर्न मद्दत गरे । २०४० सालमा मासबारमा शिव मन्दिर स्थापना गर्न सहयोग पुर्याए । ०४० सालमा छोरेपाटनमा दुर्गा मन्दिर स्थापनाका लागि सक्रिय आचार्यले २०५५ सालमा पण्डित नारायणप्रसाद पोखरेललाई केदारेश्वर मन्दिरमा महायज्ञ गर्न लगाए । त्यहाँ उठेको रकमले प्रवचन हल तयार भयो ।
विसं २०१० सालमा पोखराको वैदाम जरेवरमा तालबाराही प्राथमिक विद्यालयको स्थापनामा लीलाभक्त आचार्यको अग्रणी भूमिका रहेको पाइन्छ । आचार्य त्यस विद्यालयको २०३१ सालसम्म निरन्तर अध्यक्ष भए । २०१५ सालमा विन्ध्यवासिनीमा रात्रि पाठशाला खुलेको थियो । आचार्य त्यसको अध्यक्ष बन्न पुगे । पोखरा भीमकाली पाटनस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको आचार्य २०४९ सालदेखि २०५७ सालसम्म अध्यक्ष थिए । उनले विन्ध्यवासिनी संस्कृत विद्यापीठको भौतिक एवं शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याए ।
पोखरा छोरेपाटनस्थित हालको छोरेपाटन उच्च माध्यमिक विद्यालयको स्थापनामा लीलाभक्त आचार्यको भूमिका अग्रणी छ । २०३३ सालमा स्थापित सो विद्यालयमा आचार्य २०३३ देखि २०४६ सालसम्म अध्यक्ष बनेर विद्यालयको भौतिक संरचना मजबुत पारेका थिए । २०२२ सालमा हालको लेखनाथ नगरपालिकास्थित शिशुवा प्राथमिक विद्यालयलाई आफ्नो निजी ८ रोपनी जग्गा प्रदान गरेर आचार्यले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको स्थानीय समाजसेवी बताउँछन् । ५ छोरी र ५ छोराका पिता लीलाभक्तका ३ पत्नीको निधन भएसकेको छ ।
तपाईको प्रतिक्रिया