किन मौन विद्या भट्टराई ?

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १३:३८

समाधान संवाददाता
पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार छनोटका लागि सत्तारुढ दल नेकपालाई सकस परेको छ । तत्कालीन मन्त्री रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईको मौनताले पार्टीको जिल्ला कमिटी सकसमा परेको हो ।

जिल्ला कमिटीले विद्यालाई नै प्राथमिकतामा राखेको छ । विद्याले चाहना व्यक्त गरेमा उनको नाम मात्रै सिफारिस गर्ने सोच जिल्लाको छ । तर उठ्ने नउठ्ने कुनै कुनै प्रतिक्रिया उनले जनाएकै छैनन् । आखिर किन मौन छन् त विद्या ? स्रोत भन्छ, ‘उम्मेदवारीको बारेमा पार्टीको केन्द्रीय नेतृत्वले अहिलेसम्म विद्यालाई सोधेकै छैन । विद्या चाहन्छिन् केन्द्रको नेतृत्वले यसबारेमा आफूसँग केही सोधोस् ।’

Advertisement

नेकपा कास्कीले ८ गतेभित्र ३ जनाको नाम केन्द्रमा सिफारिस गर्ने कास्की अध्यक्ष कृष्ण थापाले बताएका छन् । नेकपामा सबैभन्दा बलियो र सम्भावित उम्मेदवारको रुपमा लिइएको नाम, विद्या भट्टराईकै हो । उनीसँगै पूर्व सांसद तथा नेकपा नेता सोमनाथ प्यासी कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहेका छन् । तर उनको नाम समानुपातिक सूचीमा रहेकाले हटाउनका लागि पार्टीले पहल गर्नुपर्छ । त्यसपछि रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य, केन्द्रीय सदस्य भीम कार्की, नेकपा कास्कीका सहइन्जार्च श्रीनाथ बराल, पूर्वसांसद तुलबहादुृर गुरुङ लगायत आकांक्षी छन् । नेकपा जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ को पनि नाम उम्मेदवारको चर्चामा छ ।

कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचन हुने देशकै एकमात्र क्षेत्र हो । त्यसैले पनि यो सबैभन्दा बढी चर्चा र धेरैको चासोको क्षेत्र बनेको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । यसको अधिकांश वडामा नेकपाले नै जितेको थियो । वडा नम्बर ४, ९, ११ मा भने कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार २ सय मतदाता पुगेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया