नाइस एक्स्पोले पोखरा प्रवर्धन गर्ने अपेक्षा

समाधान संवाददाता २०८१ फागुन १४ गते १०:३६

पोखरा ।
पोखरामा जारी नेपाल–भारत–चीन एक्स्पोले पोखराको पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । विभिन्न मुलुकका व्यापारिक प्रतिनिधिहरूको उपस्थितिले एक्स्पोमा रौनक थपेको छ । गेटबाट प्रवेश गर्दा आगन्तुकको भीड, रंगीन स्टल र आकर्षक प्रदर्शनीले पोखरालाई एक बलियो विश्व पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । जहाँ अहिले चीन, भारतबाट आएका पर्यटन व्यवसायीको समेत उपस्थिति छ ।

Advertisement


एक्स्पोमा पर्यटनसँग सम्बन्धित व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सी र साहसिक खेल प्रदायकले आपसमा टुरिजम प्याकेज किनबेच गरेका छन् । पर्यटन बोर्ड पोखराका प्रमुख मणिराम लामिछानेले एक्स्पोले पोखरा महानगरको पर्यटन वर्ष घोषणालाई सघाउने विश्वास व्यक्त गरे । उनले भने, ‘पोखरा ह्यापिनिङ डेस्टिनेस्लन हो । यहाँ विभिन्न कार्यक्रम भइरहन्छन् । अहिले एक्स्पो भइरहेको छ र यसले पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाएको छ ।’


लामिछानेले नेपालको पर्यटन बजार भारतपछि चीन दोस्रो रहेको सुनाए । उनले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने राम्रो प्लेटफर्मको रूपमा एक्स्पो बनेको दाबी गरे । । ‘यो एक्स्पोले पोखरालाई सही अर्थमा चिनाउँछ । कतिपयले पोखरा काठमाडौंपछि आउने गन्तव्य भन्ने गर्छन्, तर यो गलत छ । पोखरा, पोखरा नै हो भन्ने कुरा यस एक्स्पोले पुष्टि गरेको छ ।’


नाइसका कार्यक्रम कोर्डिनेटर सुनीलबहादुर भट्टराईले एक्स्पोले पर्यटन क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने विश्वास गरे । पोखरा पर्यटन परिषद्का तारानाथ पौडेलले एक्स्पोलाई पर्यटन प्याकेज किन्ने र बेच्ने एक प्रमुख थलोको रुपमा लिएका छन् ।


एक्स्पोमा चीन र भारतबाट ८०–९० पर्यटन व्यवसायी आएका छन्, जसले यहाँ नेपालका पर्यटन व्यवसायीसँग प्रत्यक्ष छलफल गर्दै आपसी सहकार्यका अवसरको खोजी गरेका छन् । एक्स्पोले नेपाल, भारत र चीनबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । यस प्रकारका अन्तर्राष्ट्रिय इभेन्ट पर्यटन प्रवद्र्धनका लागि आवश्यक रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

Advertisement


नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र अन्य सार्वजनिक तथा निजी क्षेत्रका साझेदारसहित प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले यही फेब्रुअरी २४ देखि २६ सम्म पोखरा इभेन्ट सेन्टरमा ऐतिहासिक नेपाल–इन्डिया–चाइना एक्स्पो आयोजना गरेका हुन् ।


‘माइस एन्ड मोर’ नाराका साथ आयोजना गरिएको यो एक्स्पोले पोखरालाई साहसिक पर्यटन र ट्रेकिङ गन्तव्यको मात्रै होइन, बैठक, प्रोत्साहन भ्रमण, सम्मेलन र प्रदर्शनी तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । यसले पोखरालाई ‘नेपालको पर्यटन राजधानी’को रूपमा थप पुष्टि गर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।


सोमबार भएको उद्घाटन समारोहमा पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले यस एक्स्पोको महत्व र यसको दीर्घकालीन प्रभावबारे उल्लेख गरेका थिए । उनले पोखरा पर्यटनलाई विश्व स्तरमा चिनाउन यो उपयुक्त मञ्च सावित हहुने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया