२ महिनापछि खुले मुस्ताङका स्कुल

सुन्दरकुमार थकाली २०८१ फागुन १४ गते २०:०५

( तल्लो मुस्ताङका स्कुल २ महिने बिदापछि खुले पनि उपल्लो मुस्ताङका स्कुलले भने वैशाखअघि बेंसीमा घुम्ती कक्षा चलाइरहेका छन् )

Advertisement


जाेमसाेम ।

मुस्ताङका सामुदायिक विद्यालयमा पठनपाठन सुरुआत भएको छ । २ महिना हिउँदे बिदापछि जिल्लाका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आएका हुन् २ महिनापछि खुले मुस्ताङका स्कुल

हिउँद यामको पुस र माघ महिनामा हिमपात र अत्यधिक चिसोले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने तल्लो मुस्ताङका सामुदायिक विद्यालयले विद्यार्थीलाई लामो हिउँदे बिदा दिने गर्दछन् । हिउँद याममा तल्लो क्षेत्रका स्थानीय तहका विद्यालयलाई २ महिना लामो हिउँदे जाडो बिदा दिने गरिन्छ ।


उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका सामुदायिक, गुम्बा, आमची र संस्थागत विद्यालय भने हिउँद याममा साविक स्थान छाडेर बेँसीमा झारिने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेले जानकारी दिए । जिल्लामा ३५ सामुदायिक विद्यालय छन् । गुम्बा, आमची र संस्थागत गरी १२ विद्यालय सञ्चालनमा छन् ।


जिल्लाका ४७ विद्यालयमध्ये घरपझाङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २४ विद्यालयले बर्सेनि हिउँदे बिदा दिने गरेका छन् । यसरी २ महिना लामो हिउँदे जाडो बिदा दिएका विद्यालयले फागुनको पहिलो सातादेखि क्रमशः शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने गर्दछन् । जिल्लामा २ महिना लामो हिउँदे बिदाका लागि ४५ दिन वार्षिक सरकारी बिदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको शैक्षिक पठनपाठन स्थगित गरिने जनाइएको छ ।

Advertisement


जिल्लाका तीन स्थानीय तहका सामुदायिक विद्यालयहरू फागुनदेखि क्रमशः शैक्षिक पठनपाठन सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लामिछानेले जानकारी दिए । विद्यालय खुलेपछि जिल्ला बाहिर रहेका विद्यार्थी विद्यालय फर्किन थालेका छन् । घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्रका अधिकांश सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयमा शैक्षिक पठनपाठन सुरु भएको एकाइ प्रमुख लामिछानेको भनाइ छ ।

जिल्लाका ३ स्थानीय तहका विद्यालय हिउँद यामको पुस र माघमा विद्यालय पूर्ण रूपमा बन्द हुने भए पनि उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई हिउँदे बिदा दिँदैनन् । उपल्लो मुस्ताङका विद्यालयले स्थानीय गाउँपालिकाको सिफारिसमा विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसी स्थान्तरण गर्ने प्रचलन छ ।
चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालन गर्नसमेत बाधा पुग्ने भएकाले उपल्लो मुस्ताङका विद्यालयले विद्यार्थीलाई पोखराका विभिन्न स्थानमा लगेर शैक्षिक क्रियाकलाप गर्ने गर्छन् । उपल्लो मुस्ताङका विद्यालय जाडो छल्दै घुम्ती कक्षा चलाउन कात्तिकअगावै बेँसीको न्यानो स्थानमा स्थान्तरण गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाका ३ सामुदायिक विद्यालयको पोखरामा आफ्नै भवनमा घुम्ती कक्षा चलाउने गरेका छन् ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आठ सामुदायिक विद्यालयमध्ये सात विद्यालयलाई जाडो छल्न बेँसी झारिएको थियो । गाउँपालिकाको घमी आधारभूत विद्यालय भने जाडो छल्न बेँसी नझरी २ महिने हिउँदे बिदा दिएको थियो । घमी आधारभूत विद्यालय हिउँदे बिदापछि सञ्चालनमा आएको र बाँकी ७ सामुदायिक विद्यालयले घुम्ती कक्षाका रूपमा बेँसीमै रहेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।


लोघेकरका विद्यालय आपसमा अस्थायी मर्ज गरी २ स्थानमा घुम्ती कक्षा सञ्चालनमा रहेको अध्यक्ष बिष्टले सुनाए ।
तल्लो मुस्ताङका विद्यालय २ लामो बिदापछि खुले पनि उपल्लो मुस्ताङका विद्यालय भने गर्मी याम लागेपछि वैशाखमा साविककै स्थानमा फर्किएर शिक्षण सिकाइ क्रियाकलापलाई नियमित गर्छन् । सरकारले गत वर्षदेखि देशभर शैक्षिकसत्रमा एकरुपता ल्याएपछि हिमाली जिल्लाको शैक्षिक क्रियाकलापमा अप्ठ्यारो पर्दै आएको छ । यसअघि हिमाली जिल्लामा पुसअगावै चालु शैक्षिक सत्र सकेर फागुनमा नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्ने गरिन्थ्यो ।


शैक्षिकसत्र एकरुपताले हिमाली क्षेत्रमा पढ्ने विद्यालयका बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बाधा पुग्ने गरेको जनहित माध्यमिक बिद्यालयकी व्यवस्थापन समिति सदस्य सम्झना थकालीको दाब िछ । हिउँदे दुईमहिने बिदाले विद्यार्थीले पढेका र सिकेका सिकाइ उपलब्धि बिर्सने भएकाले शैक्षिक नजितामा असर पुग्ने गरेको छ । सरकारले हिमाली क्षेत्रको शैक्षिक सत्र कार्यान्वयनमा पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया