सराङकोटमा महायज्ञ सुरु

समाधान संवाददाता २०८१ फागुन १४ गते २०:०७

पोखरा ।
सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ । २१ फागुनसम्म चल्ने उत्सव अन्र्तगत पूर्वाङसहित महायज्ञ सुरुआत गरिएको हो ।

Advertisement


बाजागाजा, भजन, सरुन खेलसहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्यासहित कलश यात्रा सुरु भएको थियो । उक्त यात्रा विन्ध्यवासिनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकारमार्फत यज्ञ स्थल सराङकोट पुगी मुल समारोहमा परिणत भयो ।
बुधबार अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट २५ लाख, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट १५ लाख, खिमबहादुर जिसीको परिवारबाट २ लाख ३३ हजार दान भएको छ ।


अरु दातासमेत गरी पहिलो दिन ४५ लाख ७५ हजार संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए । अन्नपूर्ण केबलकार अध्यक्ष गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाए ।
पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिनँदै यो पहिचान स्थापित भूमि भएको स्पष्ट गरे । उनले सराङकोट धामको विकासमा लागि ६ यज्ञ गरिएको स्मरण गर्दै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महसुस हुने सुनाए ।
पोखरा महानगरका प्रवक्ता मोतिराज तिम्सिनाले महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । पोखरा १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाइ राखे । कार्यक्रममा समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले सबैको साथ, सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे ।


उद्घाटनको दिन यज्ञ स्थल पुग्ने सबै भक्तजनका लागि केबलकार तथा बसमा आवातजावतको निःशुल्क व्यवस्था मिलाइएको थियो । महाउत्सव अन्र्तगत १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मूर्ती एवं देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम छ ।


यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्दै छन् । सराङकोटमा हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् ।

Advertisement


ती संरचना निर्माणमा हालसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको छ । महाउत्सवका अवसरमा सामूहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजनकीर्तन गरिनेछ । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया