अपांगता समावेशिकरणका लागि सम्मेलन

पोखरा ।
तेस्रो विश्व अपांगता शिखर सम्मेलन २०२५ को सन्दर्भमा बिहीबार पोखरामा गण्डकी प्रादेशिक सम्मेलन भएको छ । अपांगता समावेशिकरणलाई साकार पार्न गरिएको विश्वव्यापी प्रयासलाई थप मजबुद बनाउने मुख्य उद्देश्यका साथ राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ–नेपाल (निडवान)को आयोजनामा सम्मेलन भएको हो ।
आगामी अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने शिखर सम्मेलन २०२५ का लागि प्रादेशिक तहबाट अपांगताको क्षेत्रमा भएका असल अभ्यास, सबैको लागि पहुँचयुक्त पूर्वाधार, खण्डिकृत तथ्यांकको व्यवस्थाको बारेमा छलफल केन्द्रीत भएको निडवान नेपालका संस्थापक अध्यक्ष प्रतिमा गुरुङले जानकारी दिइन् ।
उनले शिखर सम्मेलनमा गण्डकी प्रदेशबाट ७ देखि ९ जनाको प्रतिनिधित्व हुने बताइन् । उनले सम्मेलनमा गण्डकी प्रदेश सरकारले अपांगता समावेशिकरणका लागि गरेको प्रगति विवरण प्रस्तुत गर्न सक्ने चर्चा गरिन् ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सम्मेलन उद्घाटन गर्दै अपांगता समावेशी विकासको लागि प्रदेश सरकारले ध्यान दिएको बताए । अपांगता भएका व्यक्तिको हक अधिकार सुनिश्चित गर्न, सबैको लागि पहँुचयुक्त पूर्वाधार निर्माणको लागि चनाखो भएर काम गरेको जानकारी दिदै उनले प्रादेशिक अपांगतासम्बन्धी ऐन २०८१ निर्माणको क्रममा रहेको उल्लेख गरे ।
मन्त्री थापाले ऐन निर्माणको क्रममा प्रदेशका ११ जिल्लाका सरोकारवालालाई समेटेर राय, सुझाव संकलन गरेको जनाए । ‘प्रदेश सरकार अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, सशक्तिकरण र पहुँचयुक्त पूर्वाधारका लागि १ करोड बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘अपांगता निर्देशक समितिमार्फत बजेटको समानुपातिक वितरणको काम भएको छ ।’ उनले आगामी वर्षको बजेट निर्माण गर्दा ध्यान दिने बताए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले अपांगता भएका व्यक्तिको खण्डिकृत तथ्यांक संकलनमा ध्यान दिने बताइन् । प्रदेश सरकारको दोस्रो पञ्च वर्षीय योजनामा अपांगताको सवाललाई समेटेको जानकारी दिँदै उनले नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिवद्धता गरिन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास महाशाखाका प्रमुख मुना अधिकारीले सहभागितामूलक नीति निर्माण, योजना तर्जुमा र कार्यक्रम कार्यान्वयन प्रणालीको सुरुवात गण्डकी प्रदेशको असल अभ्यास भएको जानकारी दिइन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्तौला, डिसाबलिटी राइट्स फन्डका अधिकृत कृष्ण गहतराज, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखरा अध्यक्ष हेमबहादुर गुरुङ, महासचिव अञ्जना केसी, हरियाखर्क अस्पतालका प्रतिनिधि विष्णु गिरी, रामचन्द्र विक लगायतले अपांगता समावेशिकरणका लागि भएका प्रयासबारे बोलेका थिए ।
गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा भएको सम्मेलन गण्डकी प्रदेश बहिरा संघ, बौद्धिक अपांग संघ, नेपाल अपांग महिला संघ, स्वालम्बन जीवन पद्धति केन्द्र पोखरा र अपांग महिला सशक्तीकरण केन्द्रको संयुक्त सहआयोजनामा भएको हो ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया