‘प्रदेश र पालिकाले पनि मिडिया ऐन बनाउनुपर्छ’

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार फ्रि मिडिया नेटवर्कलाई थप प्रभावकारी बनाउन छलफल भएको छ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा र वरिष्ठ उपाध्यक्ष दीपक आचार्यसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो ।
अध्यक्ष शर्माले पत्रकार गरेका कामलाई मूल्यांकन गर्ने अन्य संघ, संस्थाको सल्लाह र सुझावका आधार पत्रकारिता अघि बढाउनुपर्ने बताइन् । ‘प्रिन्ट मिडिया हुँदै यहाँ आएको हाम्रो पत्रकारिता टेलिभिजन, अनलाइन हुदैँ अहिले डिजिटल माध्यममा पुगेको छ,’ उनले भनिन्, ‘तर, यी सबै माध्यमलाई कसरी अनुगमन गर्ने भन्ने अहिले पर्याप्त कानुन छैनन् ।’ केन्द्रसँग नबाझिने गरी प्रदेश र स्थानीय तहले पनि यस्ता खालका कानुन बनाउन जरुरी भएको उनको भनाइ छ ।
यसका लागि व्यवसायिक मिडियालाई सत्यतथ्य र जवाफदेही बनाउनुपर्नेमा उनको जोड छ । मिडियामा आर्थिक संकट भएकाले संस्थालाई टिकाउनका लागि केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले नीति बनाउन जरुरी रहेको उनले औंल्याइन् । महासंघका वरिष्ठ उपाध्यक्ष आचार्यले पत्रकारिता नागरिकप्रति उत्तरदायी पेसा भएको यसको धर्म निभाउन आग्रह गरे । मिडियाको सम्पत्ति भनेकै नागरिक समाज भएकाले पत्रकारितामार्फत यसको विश्वास जित्नुपर्नेमा जोड दिए ।
फ्रि मिडिया नेटवर्कका कार्यकारी निर्देशक गिरीराज अधिकारीले लोकतन्त्रको सुढृढीकरणका लागि नागरिक सरोकार, संलग्नता र जवाफदेहिता हुनुपर्नेमा जोड दिए । फ्रि मिडियाले नेपालभर ११ जिल्लामा विभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी माधव शर्मा, पूर्व अध्यक्ष नारायण कार्की, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्का, पोखरा महानगरका प्रवक्ता मोति तिम्सिना, इन्सेक गण्डकी प्रमुख शिवप्रसाद खकुरेल, मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष केशु भुजेल, कास्की जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष भगवती पहारी लागयतले बोलेका थिए । महासंघ कास्की शाखा अध्यक्ष माधव बरालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया