
जोमसोम ।
उपल्लो मुस्ताङका दुई पालिकामा भारी हिमपात भएको छ । शुक्रबार बिहानदेखि उपल्लो मुस्ताङका उच्चलेंकमा हिमपात भएपनि वस्तीमा हिमपात हुन सकेको थिएन ।तर शनिबार रातिदेखि उपल्लो मुस्ताङका उच्चलेंक र खर्कसंगै वस्तीमा भारी हिमपात भएको छ ।
उपल्लो मुस्ताङमा योसिजनकै सबैभन्दा ठूलो हिमपात भएको हो । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ सबै गाउँ वस्तीमा बाक्लो हिमपात भएको लोघेकर दामोदरकुण्ड गाउँपािलकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टले शनिबार राति परेको हिमपातसंगै उपल्लो मुस्ताङमा उच्चलेंक देखि सबै गाउँवस्तीहरु हिउँले सेताम्मे भएको बताए ।
उपल्लो मुस्ताङको समरदेखि कोरलानाकासम्मको क्षेत्रमा भारी हिमपात भएको अध्यक्ष बिष्टले उल्लेख गरे । ढिलै भएपनि उपल्लो मुस्ताङमा परेको हिउँले वातावरण प्रदुषण हटाउने, हरियाली बढाउने,कृषकको अन्नबालीलाई फाईदा पुग्ने अध्यक्ष बिष्टको भनाई छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर,ढिङ्गुर,नेचुङ, कोरला लगायतका स्थानमा हिमपात भएसंगै त्यहाँका हिउँको उत्साह थपिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङ, मराङ,यारा,घारा,ढि, सुर्खाङ,घमी, घीलिङ र समर लगायतका गाउँवस्तीहरु पनि अहिले हिउँले सेताम्मे भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिए । वडाध्यक्ष ठकुरीले उपल्लो मुस्ताङमा एक फिटसम्म हिउँ परेको र वस्ती माथिका उच्चलेंकहरु पुरै हिउँले ढाकिएको बताए ।
हिउँको ब्यग्र प्रतिक्षामा रहेका उपल्लो मुस्ताङका किसानहरु हिउँ परेपछि निकै उत्साहित भएका छन् । हिउँ पर्ने अनुकुल समयमा समेत हिउँ पर्न नसक्दा मुस्ताङका किसान निकै चिन्तित देखिएका थिए । ढिलै भएपनि जारी सिजनको उत्तरार्धमा हिमपात भएकाले कृषकहरुलाई ठुलो राहत मिलेको लोमान्थाङ—३ ढिङ्गरका किसान कर्मसन्टुक गुरुङले उल्लेख गरे । हिउँदयाममा उत्तरार्ध समयमा बेसी झरेका उपल्लो मुस्ताङले गाउँ फर्किएर उवा,जौ र गहु लगायतका अन्नबाली लगाउने बेलामा हिउँ परेका स्थानीय कृषकहरुलाई नयाँ बाली लगाउन सहज भएको गुरुङले जनाए ।
उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा मुक्तिनाथक्षेत्र तथा थोरङ्लापास क्षेत्रमा आशिंक हिमपात भएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्यकर्मी सुवास अधिकारीले बताए । ‘आशिंक हिउँ परेको छ, जमिनको सतह ताँतिसकेकाले हिउँ अडिन सकेको छैन ,तैपनि आशिंक हिमपातले मुक्तिनाथ क्षेत्रको सौन्दर्यतालाई सेताम्मे हिउँले वातावरण गुल्जार तुल्याएको छ,’ स्वास्थ्यकर्मी अधिकारीले भने ।’
मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाको उच्चलेंकहरुमा छिटफुट हिमपात भएको छ । तर घरपझोङ र थासाङमा वस्ती र खेतीयोग्य जमिनमा हिउँ पर्न नसकेको आदीवासी जनजाती पत्रकार महासंघ फोनिजका सदस्य सोजन हिराचनले जानकारी दिए । वस्तीमा हिउँ पर्न नसक्नु दुर्रभाग्य भएको उनले बताए । ‘हिउँ पर्यो भने अन्न झर्यो भन्नछन,’हिराचनले भने, ‘खै किन हो हाम्रो क्षेत्रमा वस्तीसम्म हिउँ पर्न सकेन ।’
हिउँले स्याउ लगायतका फलफूल तथा तरकारी बालीहरुमा परागसेचन गराउन मद्यत मिल्ने भएकाले मुस्ताङका किसानलाई अनुकुल सिजनमा हिउँ पर्नुपर्ने हुन्छ । हिउँले खेतीयोग्न जमिनको भित्री सतहसम्म रिचार्ज गर्ने भएकाले हिउँदयामको हिउँ अर्गानिक सिचाई भएको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताए । हिउँले फलफूल तथा तरकारी र अन्य अन्नबालीमा लाग्ने विभिन्न रोगकिराको संक्रमणहरु लाग्नबाट रोक्ने भएकाले किसानलाई हिउँको आवश्यकता रहेको प्रमुख आत्रेयले खुलाए ।
उपल्लो मुस्ताङमा हिउँ परेसंगै स्थानीय नागरिक तथा पर्यटकहरुको जनजिवनमामा आशिंक प्रभाव परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई हिमालमैत्री योजना बनाउन अनुरोध गरेका छन् । उनले वाँसस्थानको एकिन,मौसमको पूर्वानुमान, खानपान र न्यानो व्रस्त्र पहिरिएर मुस्ताङ आउन जानकारी दिएका छन् । हिमपातको समय अत्यधिक चिसो हुने र यसले पर्यटकलाई लेंक लाग्न सक्ने समस्या हुने भएकाले सावधानी अपनाउन पर्यटकलाई सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया