विश्व श्रवण दिवसको सन्देश

डा सञ्जय कोइराला २०८१ फागुन १९ गते १५:४७

हरेक वर्ष मार्च ३ गते विश्व श्रवण दिवस मनाउने गरिन्छ । ‘मनोवृत्ति परिवर्तनः सबैका लागि कान र सुनाइ हेरचाहलाई वास्तविकता बनाउन आफैंलाई सशक्त बनाउनुहोस्’ भन्ने नाराका साथ विश्व स्वास्थ्य संगठनले यो वर्ष अर्थात् सन् २०२५ को विश्व श्रवण दिवस मनाउँदै छ । सोसाइटी अफ अटोल्यारिन्गोलोजी अफ नेपाल (सोल नेपाल) ले पनि सधैं जस्तै विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउँदै छ ।

Advertisement


श्रवण शक्ति झट्ट सुन्दा आवाजहरु सुन्न र पहिचानका लागि मात्रै आवश्यक हुन्छ भन्ने हामी धेरैको बुझाइ हुन्छ । आम जनमानसमा सुनाइको बिषयमा के भ्रम पनि छ कि कुनै मान्छेले सुन्ने या नसुन्ने उसको गुण हो, चाहे त्यो जन्म जात होस् या पछि आर्जित होस् । सुनाइलाई हामी नेपालीले धेरै नै हल्का बिषय ठानिरहेका हुन्छौं । सानोमा कसैले सुनेन भने उसको जन्मजात खोट हो, भगवानले उसलाई यस्तै नै बनाएका हुन्, यसरी नै हामीले उसलाई ग्रहण गर्नु पर्छ भन्ने अझै पनि अन्धविश्वास व्याप्त छ ।


सोही कारण अझै पनि साना बालबालिकालाई बेलैमा उपचार गराउने हाम्रो चलन छैन । ठूलो भएपछि पनि विभिन्न कारणले गर्दा हुने सुनाइको समस्यालाई हामी सहजै अन्दाज गरिरहेका हुन्छौं । बारम्बार कान पकिरहने समस्याले सुनाइमा जति नै असर गरे पनि दुखाइ नहुने बेलासम्म अधिकांश बिरामीले त्यति वास्ता गरेको पाइन्न । जब सुन्ने शक्ति न्यून भएर दैनिक क्रियाकलापमै समस्या आउन थाल्छ, तबमात्र हामी चिकित्सकसँग परामर्श लिन जाने गर्छौं ।


अझै कतिपय बिरामी त कानको उपचार या अप्रेसन गरे झन् सुनाइ कम हुने गलत अफवाहको पछि लागेर अब यत्तिकै जिन्दगी गुजारा गर्ने निर्णयसम्म लिएको धेरै पाएको छु । यो सबै हाम्रो गलत मनोवृत्ति हो ।

बारम्बार कान पाकिरहने समस्याले जति नै असर गरे पनि दुखाइ नहुँदासम्म अधिकांशले वास्ता गरेको पाइन्न

Advertisement


सुनाइको अवस्थाले मानिसको व्यक्तित्व पनि दर्साउँछ । विभिन्न अध्ययनले देखाएको छ कि सुनाइ कम हुने मानिसको संज्ञानात्मक क्षमतामा पनि ह्रास आउँछ । सुनाइको अवस्थाले मानिसको पारिवारिक, सामाजिक र कार्यक्षेत्रमा पनि ठूलो असर गर्दछ । दुवै कान कम सुन्ने मानिस उमेर नपुग्दै बुढ्यौली अवस्थाका देखिन्छन् । शैयौँ कानको अप्रेसनपश्चात सुनाइमा परिवर्तन आएपछि देखिएको व्यक्तिगत अनुभवमा बिरामीको मुहारसँगै जीवनमा पनि धेरै सकारात्मक परिवर्तन मैले देखेको छु ।


यसले बिरामीमात्र नभई उनीहरुसँग प्रत्यक्ष जोडिएका अरु मानिसको जीवनमा पनि सकारात्मक परिवर्तन हुन्छ । उनीहरुलाई पनि पहिले चर्को बोल्नुपर्ने हुँदा झर्को लाग्ने, अरुको अघि असहज हुने परिस्थितिबट छुटकारा मिलेर जीवन निकै सहज हुन्छ ।
यस वर्ष सोल नेपालले जारी गरेका सुनाइसम्बन्धी सचेतनाहरु टेबुलमा राएिका छन् । ‘मनोवृत्ति परिवर्तनः सबैका लागि कान र सुनाइ हेरचाहलाई वास्तविकता बनाउन आफैंलाई सशक्त बनाउनुहोस्’ भन्ने नाराका साथ मनाउन लागिएको यो दिवसमा सबैको सहभागितासँगै मनोवृत्ति परिवर्तनको आवश्यकता रहन्छ ।


( सोल नेपालका कार्यकारी सदस्य कोइराला नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन् )

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया