कोटिहोम रोक्न महानगरको निवेदनमा अदालतको आदेशः महायज्ञ रोक्ने होइन, मुद्दा टुंग्याउन अग्राधिकार

समाधान संवाददाता २०८१ फागुन १९ गते २०:४५

पोखरा ।
उच्च अदालत पोखराले मानव सेवा फाउण्डेसनद्वारा आयोजना हुन लागेको कोटिहोम रोक्न परेको विवादमा यसअघि जारी अन्तरिम आदेश यथावत् राख्ने आदेश गरेको छ ।

Advertisement


अदालतले यसअघि जारी अन्तरिम आदेशलाई यथावत् राख्दै रिट निवेदनलाई अग्राधिकार दिएर छिटो पेशी तोक्न निर्देशन दिएको हाे । अब पूर्ण सुनुवाइपछि अन्तिम निरुपण हुने बताइएको छ ।


यसअघि उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले भ्याकेट निवेदन दर्ता गराएको थियो । अदालतले अन्तरिम आदेशमा महायज्ञ नरोक्न भनेको थियो ।


पोखराको लेकसाईडमा गर्न भनेको कोटिहोम महायज्ञ पोखरा महानगर पालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले दिएको रिटमा फागुन १ गते सो आदेश आएको थियो । त्यो आदेश वेरितको भन्दै पोखरा महानगर पालिकाले फागुन १२ गते निवेदन दिएको थियो । लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्वीकृत नदिएको कारण उल्लेख गरेर अदालतमा भ्याकेट निवेदन दिएको थियो ।


तर, फागुन १९ गते न्यायाधीश दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले अन्तरिम आदेश अन्यथा गर्नु आवश्यक नदेखिएको आदेश दिएको हो । मुद्दामा पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता सुकदेव गौतम तथा मानव सेवा फाउण्डेसन नेपाल, पोखरा शाखाको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कृष्ण बहादुर थापा र राजु बस्नेतसहित अधिवक्ताहरु वीरेन्द्र केसी, दुर्गा प्रसाद कोइराला, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलको बहस भएको थिए ।

Advertisement


निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिन भित्रै तालको सिमांकन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर गरिएको थियो । यसअघि महायज्ञ गर्ने भन्दै पोखरा महानगरपालिकाको वडा नं १४, ६ र १३ मा सयौँ वर्ष पुराना वरपीपल लगायतका रुखहरू कटान भएपछि मेयर आचार्यले कोटिहोम गर्न नदिने बताउँदै आएका थिए । काटिएका रूखहरू अहिले महानगरले जफत गरेको छ ।

कोटिहोम आयोजक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटिहोमको गरेरै छाड्ने अडान लिएका छन् । कष्णमूर्तिबिच कोटिहोम गर्ने र मेयर आचार्यले गर्न नदिने भन्दै आरोपप्रत्यारोप भइरहेको थियो । त्यसै बेला कृष्णमूर्ति अदालतमा पुगेका थिए । सोही क्रममा अदालतले अन्तरिम आदेश दिएको थियो ।


नेपाल ट्रस्टले यही कोटिहोमको आयोजनाका लागि ट्रस्ट मातहत रहेको क्याम्पिङ चौर र बाराहीघाटको जग्गा उपलब्ध समेत गराएको पत्र लिएर उनीहरु अदालत पुगेका थिए । त्यसका लागि आयोजकले भाडाबापत ११ लाख ५९ हजार रुपैयाँ समेत बुझाइसकेको प्रमाण अदालतमा पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया