उपल्लो मुस्ताङमा हिमचितुवा आक्रमणले पशुपालनमा क्षति

सुन्दरकुमार थकाली २०८१ फागुन २० गते १९:०५

जोमसोम । पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय किसानको सयौं वर्ष पुरानो पशुपालन व्यवसाय संकटमा पर्न थालेको छ । हिमचितुवाको आतंकले स्थानीय पशुधनमाथि आक्रमण गरी पटक÷पटक क्षति पुर्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङको पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो ।

Advertisement

मुस्ताङमा हिमचितुवाको एकीन तथ्यांक छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको पशुपालन व्यवसाय नै लोप हुने खतरा बढेको हो । जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छोडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ ।

हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षणविद्हरुले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरक–फरक अभिमत राख्ने गरेका छन् ।

पछिल्लो २ वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् । गत वर्ष मुस्ताङमा दुई वटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखा परेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालेका घरपालुवा घोडा, खच्चड, याकचौरी, भेडा÷च्यांग्रा लगायतमा क्षति हुने जोखिम बढेको हो ।

दुई वर्षअघि लोघेकर दामोदरकुण्ड–२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङका ७९ वटा च्यांग्रा हिमचितुवाले आक्रमण गरी मारे । तारबारसमेत लगाइएको च्यांग्रा गोठमा जाली नाघेर ४ वटा हिमचितुवा खोरमा पसेर गुरुङका ठूलो संख्यामा च्यांग्राहरूमा क्षति पुर्यायो । यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेका ३३ वटा च्यांग्रामध्ये ४ वटा हिमचितुवाले आक्रमण गरी मारे । नवीन र मिङमार केवल प्रतिनिधि पात्र मात्रै हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौं पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति पुर्याएको छ । यसै कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।

Advertisement

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले चालु आर्थिक वर्षको १० महिना अवधिमा हिमचितुवाले १३ वटा पशुधनमा क्षति पुर्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आ.व. २०८१÷०८२ को साउनदेखि माघ मसान्तसम्ममा ३ वटा घोडा, ६ वटा च्यांग्रा र ४ वटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति पुर्याएको जानकारी दिए ।

यसैगरी, गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका विभिन्न पशुपालक किसानका कुल १८० वटा पशुधनमा हिमचितुवाले क्षति पु¥याएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्ड अनुसार, गत वर्ष घोडा १४, च्यांग्रा १५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आ.व. २०७९÷०८० मा मुस्ताङका ५ वटै पालिकाका गरी १३ घरधुरीका ६५ वटा पशुधनमा क्षति भएको थियो ।

मुस्ताङको पुख्र्यौली व्यवसायका रूपमा याकचौरी, घोडा र भेडाच्यांग्रा पालन गरिँदै आएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्रै सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौरी र भेडाच्यांग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया पुर्याएर नियमानुसार क्षति राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले क्षति राहतका लागि एक्यापको सम्पर्कमा आउने संख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलले बताए ।

उनका अनुसार वन्यजन्तु पीडितहरू घटना घटे पनि राहतका लागि सम्पर्क गर्न नसक्दा वन्यजन्तु क्षतिको एकीन तथ्यांक संकलन गर्न समस्या हुने गरेको छ । ‘हामीले वन्यजन्तु क्षति भएमा समुदायमा रिपोर्ट गर्न भनेका छौं, संरक्षण क्षेत्र व्यवस्थापन समिति र प्रहरी युनिट पनि छन्,’ एक्याप लोमान्थाङ प्रमुख पौडेलले भने, ‘वन्यजन्तु क्षतिको विवरण संकलनदेखि सबै कागजी प्रक्रियामा एक्याप कार्यालयले कर्मचारी खटाएर सहजीकरण गर्छ ।’ कार्यालय प्रमुख पौडेलका अनुसार, अब चाँडै वन्यजन्तु क्षति राहत रकम आउने र त्यसलाई समुदायमा पुगेर पीडितलाई वितरण गरिनेछ ।

एक्याप लोमान्थाङअन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले २ वर्षयता राहत पाउन नसके पनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तु पीडितलाई निरन्तर क्षति राहत वितरण गर्दै आएको छ ।

पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहवर, प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सकहरूको उपस्थितिमा क्षति लागत अनुमान गरी राहत वितरण गरिन्छ । एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३३‘क’ ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तु पीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाइ छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया