प्रहरीको सूचना प्रहरीबाटै चुहियाेः जुवाडेहरु फरार

समाधान संवाददाता २०७६ कार्तिक १४ गते १४:१५

सुरेशराज अधिकारी
पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीको सादा पोसाकको टोली गत आइतबारदेखि लेखनाथको विभिन्न ठाउँमा घुम्दै आएको थियो । प्रहरी टोलीले लेखनाथमा कौडा खेल्ने समूहको खोजीमा नै थियो ।

प्रहरी टोलीले मंगलबार किमबिसीमा एक घरमा कौडा खेलेको शंका पायो । केही दिनको प्रहरीले कौडा खेल्ने समूहलाई पक्राउ गर्ने योजना अघि बढायो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी कार्यालय सिसुवाको टोलीसँग आवश्यक सहयोग माग्यो ।

Advertisement

सिसुवाबाट हिँडेको केही समयमा नै कौडाको खालमा सूचना पुग्यो— प्रहरी पक्राउ गर्न आउँदैछ । खालबाट सबैको भागाभाग भयो । खालमा ४० लाख रुपैयाँभन्दा बढी पैसा रहेको सादा पोसाकका प्रहरीको अनुमान थियो । प्रहरीले उनीहरुलाई समात्न असफल भयो ।

‘इलाका प्रहरी कार्यालयबाट नै हामीलाई घात भयो,’ सादा पोसाकका एक प्रहरी भन्छन्, ‘हामीले मागेको थप टोलीको सदस्यले नै कौडा खेल्ने समूहमा सूचना पुर्‍यायो ।’ इलाका प्रहरी कार्यालयमा कार्यरत एक सईले सूचना चुहाएको आशंकामा कास्की प्रहरी अनुसन्धानमा जुटेको छ ।

Advertisement

कौडाको खालबाट भग्ने क्रममा स्कुटरबाट एक जना घाइते समेत भएको प्रहरी स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जुवाडे समात्ने योजना असफल भएको बताए । ‘खराब काम गर्ने प्रहरीलाई कारबाही हुन्छ,’ केसीले भने, ‘हाम्रो संगठनमा विगत गर्दा केही यस्तो नराम्रो काम गर्ने देखिन्छ ।’

११ जना पक्राउ
कास्की प्रहरीले विभिन्न ठाउँमा जुवातास खेल्ने ११ जनालाई पक्रेको छ । प्रहरीले पोखरा ९ बास्तोलाथरमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो । जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्दै आएका प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने सूचनाका आधारमा प्रहरीले ३२ हजार ४ सय ३० रुपैयाँ नगद र ताससहित ७ जनलाई पक्राउ गरेको हो ।

सोमबार पोखरा ५ पस्र्याङबाट ३९ हजार २ सय नगद र ताससहित ४ जना पक्राउ परेका छन् । रुद्रबहादुर केसीको घरमा जुवातास खेलाइएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया