तीन पुस्ताको राजनीतिक विरासत, समाजसेवा

मेरो तीन पुस्ताको राजनीतिक विरासत र समाजसेवामा कलम चलाउने जमर्को गरेँ । मेरो पहिलो पुस्ता स्वर्गीय नीलकण्ठ दवाडी (बैदार) नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलका मन्त्री स्व. मीनबहादुर गुरुङको लेखनदास (हालको स्वकीय सचिव, पिए) को भूमिका निर्वाह गर्नुभएको थियो । साथै, उहाँ तत्कालीन समयका शिक्षाप्रेमी व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले विभिन्न ठाउँमा अध्यापन गर्नुभएको साथै विद्यालयहरू पनि स्थापना गर्नुभएको इतिहास पाइन्छ ।
त्यसमध्ये आधिकारिक रूपमा हालको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेका गौरीशंकर मनिलाल मावि सैदीखोला र अन्नपूर्ण आधारभूत विद्यालय कालिमाटी आजभन्दा करिब ६५ वर्षअघि बाँस, चित्राले बारेर हाल भएको ठाउँमा शुभारम्भ एवम् पठनपाठन गर्नुभएको थियो । मेरो हजुरबुवा नीलकण्ठ दवाडीको योगदानबारे त्यस क्षेत्रका पुराना व्यक्तित्वहरूले भन्नुभएको साथै मेरो बुवा स्व. देवीप्रसाद दवाडीले पनि बेलाबेला भन्ने गर्नुहुन्थ्यो ।
त्यसमध्ये कास्कीकोटवासी हाल पोखरा–५ निवासी वरिष्ठ सामाजिक व्यक्तित्व, समाजसुधारक एवम् शिक्षाप्रेमी आदरणीय हजुरबुवा वेदनिधि शर्मा अधिकारी उमेरले ८६ वर्षका हुनुहुन्छ । उहाँले पनि नाताले भिनाजु नीलकण्ठ दवाडीले स्थापना गर्नुभएको विद्यालयमा मैले केही वर्षअघि महायज्ञ लगाउन सहयोग गरेको थिएँ भन्नुहुन्छ । त्यसैगरी, त्यस क्षेत्रका हालका जनप्रतिनिधि रामहरी गुरुङसँग पनि मैले प्रत्यक्ष भेटघाट गरेर भलाकुसारी गरेको थिएँ । हाल एक विद्यालय उहाँका बुवा समाजसेवी एवम् शिक्षाप्रेमी मनिलालको नाममा नामकरण भएको छ ।
यसै वर्ष स्वर्गारोहण गर्नुभएका मेरो पिता देवीप्रसाद दवाडी पनि नेपाली कांग्रेसको राजनीतिमा अन्धभक्त हुनुहुन्थ्यो । उहाँले राजनीतिबाट कुनै फाइदा लिनुभएन, हामीलाई पनि स्वाभिमानी बन्न सिकाउनुभयो । मेरो पिताले समाजसेवाको महान् कार्यस्वरूप कास्कीकोटमा नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयलाई १५ शय्याको अस्पताल बनाउने शर्तमा भूमि दान गर्नुभएको थियो । उहाँ धनले धनी भएर होइन, मनले धनी भएर भूमि दान गर्नुभएको थियो । हाल उक्त स्थानमा केवल स्वास्थ्य चौकी बनेको छ, व्यवस्थित हुनसकेको छैन ।
भनाइ र गराइ मिलिरहेको छैन । त्यसैले यसको स्तरउन्नतिका लागि यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, सरोकारवाला, जनप्रतिनिधि, सर्वसाधारण सबैले चासो लिँदा मात्र सुविधा सम्पन्न स्वास्थ्य सेवा केन्द्रका रूपमा विकसित हुनेछ । अनि मात्र हामी जग्गादाताले पनि गरेको दानबाट पूर्ण रूपमा सन्तुष्टि पाउनेछौँ ।
सायद यही दुई पुस्ताको राजनीतिक विरासत एवम् समाजसेवाले तेस्रो पुस्ताका हामी तीन दाजुभाइ – म, विमलराज दवाडी, रमेशराज दवाडी – र दुई बहिनी यमुना अधिकारी तथा शान्ति भण्डारी नेपाली कांग्रेसको छत्रछायाँमा समाजसेवाको भावनाबाट हुर्कियौँ । मेरो राजनीतिक चेतना घर–परिवारबाटै विकसित भएको हो । विसं २०४२ सालको राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारको पछि–पछि बाल्यकालमा दौडिएको सम्झना आउँछ । विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि विद्यालय पढ्दै गर्दा नेविसंघको राजनीतिमा संलग्न हुँदै विश्वविद्यालयको राजनीतिमा पनि आफूलाई सक्रिय बनाइरहेँ ।
आस्थाकै आधारमा मेरो मावि दरबन्दीको शिक्षकको जागिर विसं २०५९ सालमा खोसिएको थियो । मैले आफ्नै पार्टी पंक्तिबाट न्याय पाइनँ
राजनीतिक आस्थाकै आधारमा मेरो मावि दरबन्दीको शिक्षकको जागिर विसं २०५९ सालमा खोसिएको थियो । मैले आफ्नै पार्टी पंक्तिबाट न्याय पाइनँ । विसं २०६० सालदेखि पार्टीको क्रियाशील सदस्यता लिएर आफ्नो भूमिका निर्वाह गरिरहेको छु । त्यसपछि रोजीरोटीका लागि निजी विद्यालयमा अध्यापन थालेँ र हाल पनि निजी विद्यालयमा नै कार्यरत छु ।
मैले हालसम्म पार्टीबाट कुनै लाभ लिएको छैन । मलाई जहाँ पनि विपक्षी पार्टी समूहले चिन्ने र अनावश्यक दुःख दिने प्रवृत्ति पटक–पटक भोगेकै हो । म आफ्नो राजनीतिक आस्थाबाट विचलित भइनँ, तर आफ्नै पार्टी वा कांग्रेसजनहरूबाट नचिनिने, बेवास्ता गरिने अवस्थासँग जुधिरहेकै छु । म पार्टीमा रही पार्टी र देश–जनताको हितमा नै समर्पित रहनेछु ।
निजी विद्यालयमा कार्यरत शिक्षक एवम् कर्मचारीहरूको हकहितका लागि संयुक्त रूपमा डेमोक्र्याट र कम्युनिस्टहरूको पहलमा स्थापना भएको इस्टु (क्ष्क्त्ग्) को विसं २०७० सालमा कास्की जिल्ला अध्यक्षको भूमिकामा रहँदै धेरै साथीहरूलाई समेट्ने प्रयास गरेँ । पछिल्लो समयमा डेमोक्र्याट साथीहरूको पहलमा, विशेषगरी भोलानाथ चालिसेको सक्रियतामा, नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ (निस्टा) गण्डकी प्रदेशको अध्यक्षको भूमिकामा छु ।
केन्द्रीय अध्यक्षमा भोलानाथ चालिसे सर हुनुहुन्छ । अन्य साथीहरू यसको अस्तित्वका लागि अनवरत लागिपर्नुभएको छ । मैले यहाँ एउटा उखान चरितार्थ ठानेँ – १२ वर्षमा खोलो फर्किन्छ – तर मेरो हकमा दुई १२ वर्षभन्दा बढी लाग्यो । अहिले पार्टी पंक्तिबाट मेरो योगदानलाई कदर गर्दै शिक्षा तथा प्रविधि मन्त्रालय, शिक्षा विभाग गण्डकी प्रदेश संयोजक शोभा अधिकारी तथा पार्टी सभापति शुक्रराज शर्माले प्रदेश शिक्षा विभाग सदस्यमा मनोनयन गर्नुभएको छ । उहाँहरू प्रति उच्च आदर एवम् सम्मान व्यक्त गर्दछु ।
त्यसैगरी, नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ (निस्टा) का अध्यक्ष भोलानाथ चालिसे, साथै मलाई प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग एवम् सहकार्य गर्ने सम्पूर्णजनप्रति आभार व्यक्त गर्दछु । मेरो शिक्षण क्षेत्रको योगदानसँगै यसै वर्ष म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ‘राष्ट्रिय शिक्षा पुरस्कार २०८१’ साथै अन्तर्राष्ट्रिय अवार्ड ‘एसिया आउटस्ट्यान्डिङ एकेडेमिक अवार्ड २०२४’ बाट सम्मानित हुने अवसर प्राप्त गरें । मेरो २५ वर्षको अध्ययन एवं २५ वर्षको शिक्षण अनुभव पार्टीको जिम्मेवारी र मुलुकको शिक्षा नीतिमा सदुपयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु । पितृको आशीर्वाद सधैँ प्राप्त भइरहोस् । जय नेपाल !
तपाईको प्रतिक्रिया