‘सडक बनाऊ, डढेलो नियन्त्रण गर’

पोखरा ।
गण्डकी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौथो बैठकमा सांसदहरुले जनताका समस्या उजागर गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष तथा शून्य समयमा बोल्दै उनीहरुले प्रदेशका विभिन्न पूर्वाधार, विकास, सुरक्षा तथा अन्य जनसरोकारका विषयमा धारणा राखे ।
प्रदेश सभा भवनका क्यामेराहरु सक्रिय नरहेको भन्दै सांसद भीम कार्कीले पारदर्शिताका लागि तिनीहरु सुचारु गर्न आग्रह गरे । उनले प्रदेश सभामा सांसदहरूको उपस्थिति देखिने गरी क्यामेरा राख्नसमेत माग गरे । टप्काकुमारी बस्यालले मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको पिस्ती खोलाको पुल अझै निर्माण नभएकाले जनताले सास्ती भोग्नुपरेको बताइन् । उनले वर्खा याममा यातायात पूर्ण रुपमा अवरुद्ध हुने भएकाले सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद डिल्लीराज सुवेदीले गर्मी मौसममा डढेलोको जोखिम बढ्ने भएकाले संघीय, प्रदेश र स्थानीय तह मिलेर एकीकृत कार्ययोजना बनाउन आग्रह गरे । उनले आगलागी नियन्त्रणका उपाय अबलम्बन गर्न तथा जनचेतना कार्यक्रम ल्याउन सरकारलाई अनुरोध गरे । संसद देवका पहारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु र लासाका लागि उडान सुरु हुने खबरले प्रदेशवासीलाई खुसी तुल्याएको बताइन् ।
पहारीलेसरकारले यसलाई विशेष प्राथमिकता दिई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । सांसद विकल शेरचनले लोमाङथाङ गाउँपालिकाको दिव्यदिप मावि विद्यालय भवनको छानो उडेकाले तत्काल मर्मत गर्न आग्रह गरे । भक्तबहादुर कुँवरले पर्वत जिल्लाको जिप दुर्घटनामा घाइतेहरूको उपचारमा सरकारको ध्यानाकर्षण गराए । सांसद महेश भट्टराईले गल्याङ नगरपालिकाको महोनडाँडास्थित ३ हजार मिटर लामो कुलो क्षतिग्रस्त भएकाले ४० परिवार प्रभावित भएको उल्लेख गर्दै सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
रेखा गुरुङले पर्वतको लिदीमा भएको दुर्घटनाबाट प्रभावितको उपचारका लागि प्रदेश सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिइन् । सांसद सुशीला सिम्खडाले गोरखा जिल्लाको आरुघाट खण्डमा पर्ने सडक निर्माण समयमा सम्पन्न नभएको र मजदुरलाई १० वर्षअघिकै पारिश्रमिक दिइएको भन्दै तत्काल सुधार गर्न आग्रह गरिन् ।
श्यामराज महतले तनहुँ र म्याग्दी जोड्ने सडक निर्माण बजेट अभावका कारण रोकिएको भन्दै ठेकेदार र कर्मचारीबीचको तालमेलबारे छानबिन गर्न आग्रह गरे । प्रदेश सभामा उठाइएका यी विषयमा सरकारको जवाफ र आगामी कदमबारे जानकारी अपेक्षा गरिएको छ।
पेश भयो विद्युत विकाससम्बन्धी विधेयक
गण्डकी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौथो बैठकमा विभिन्न विधेयक प्रस्तुत भएका छन् । उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गरे । सभामुखका अनुसार उक्त विधेयकमा कुनै सांसदले संशोधन प्रस्ताव दर्ता गरेनन् ।
मुख्यमन्त्रीको तर्फबाट सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले ‘प्रदेश निजामति सेवा ऐन २०७५’लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरे । सरकारले अध्यादेशमार्फत व्यवस्था गरिसकेको उक्त विधेयक प्रतिस्थापन विधेयकका रूपमा पेश गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ‘गण्डकी प्रदेशमा विद्युत् विकास गर्न बनेको विधेयक’ सभामा पेश गरे । त्यस्तै, अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन सभामा प्रस्तुत गरे ।
समितिमा दफाबार छलफल गरी सर्वसम्मत रूपमा विधेयक पारित गरिएको उनले जानकारी दिए । उनले ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार व्यवस्था गर्न बनेको विधेयक’ पनि पेश गरे । उक्त विधेयकलाई समितिले दफाबार छलफल गरेर सर्वसम्मत रूपमा पारित गरेको सभापति अर्यालयको भनाइ छ ।
पूर्वमुख्यमन्त्री अधिकारीले सम्झे राजतन्त्रकालीन समय
गण्डकी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौथो बैठकमा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजतन्त्रकालीन समय स्मरण गरेका छन् । उनले गणतन्त्र ल्याउने क्रममा भोगेका यातना स्मरण गर्दै आफूहरू अझै जिउँदै रहेको बताए ।
‘राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याउने हामीहरू अझै जिउँदै छौं । मेरो शरीरमा यातनाका दाग छन् । मलाई ३३ वर्ष कैद फैसला दिने पनि त्यहीँ राजतन्त्र थियो,’ उनले भने । आफूलाई यातना दिइएको, शारीरिक आक्रमण गरिएको र विभिन्न यातना सहनुपरेको उनले सुनाए । पछिल्लो समय राजतन्त्रको पुनस्र्थापनाका लागि हुने गतिविधिहरूप्रति चेतावनी दिँदै भने, ‘यदि कोही संविधानको मर्म विपरीत श्री ५ महाराजधिराज राख्न खोज्छ भने त्यो संविधानमाथिको खेलवाड हुनेछ, जुन सहन सकिँदैन ।’
अधिकारीले गण्डकी प्रदेशमा भएको विकासको चर्चा गर्दै गणतन्त्रको उपलब्धिहरू सम्झेका छन् । गण्डकी विश्वविद्यालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गणतन्त्रकै देन भन्दै ८५ वटै पालिकालाई सडक सञ्जालले जोड्ने काम भएको उनले सुनाए । सरकारले वातावरण संरक्षण र पूर्वाधार निर्माणलाई अझ बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया