सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

बागलुङ ।
यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रुपमा सवल बनेका छन् ।
जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।
स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन् । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उनको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताइन् ।
उनले भनिन्, “बाँको त हाम्रो जंगलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरु अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।”
आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उनको भनाइ छ । मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताए । गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उनको अनुभव छ ।
जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उनको भनाइ छ ।
महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया