नयाँ नोट छाप्दै राष्ट्र बैंक

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १५:५१

समाधान संवाददाता, काठमाडौं

नेपाल राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्न बोलपत्र आह्वान गरेको छ । २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र खोलिएको हो । यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो । केन्द्रीय बैंकले हरेक नोट १ पटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउँछ । यसलाई नोटको आयु पनि भनिन्छ । यसको अर्थ एउटा नेपाली नोट ३ वर्षसम्म टिक्छ भन्ने पनि हो ।

पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । हरेक वर्ष दसैंको समयमा नयाँ नोट बजारमा पठाउँदा केन्द्रीय बैंकले केही वर्षयता २० रुपैयाँका नोटको अभाव खेप्नुपरेको राष्ट्र बैंकले बताउँदै आएको छ । ‘चार्डपर्वमा २० रुपैयाँको माग बढी हुन थालेको छ । मागअनुसार छपाइ नहुँदा वर्षभर अभाव खेप्नुपरेको हो’, राष्ट्र बैंकका १ अधिकृत भन्छन् । मानिसको क्रयशक्ति र बजारभाउले कुन दरको नोट बढी माग हुन्छ भन्ने निर्धारण हुन्छ । दसैंमा २० रुपैयाँको नोटमा चाप पर्नुका कारण पनि यही हो । तर, राष्ट्र बैंकले भने यस्ता साना दरको नोटको साटो ५० र १ सय अंकित दरका नोटको छपाइ बढाउने नीति लिएपछि साना दरका नोट अभाव हुने अवस्था आएको ती अधिकृत बताउँछन् ।

Advertisement

पछिल्ला वर्षमा राष्ट्र बैंकले ५ सय र १ सय दरका नोटको छपाइ बढाउन थालेको छ । ३ वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको केन्द्रीय बैंकले यो वर्ष भने ३१ करोड थान छपाउँदै छ ।

नोटमा प्रयोग हुने कागज, नोटका सुरक्षा विशेषता, छपाइ र ढुवानी लागतअनुसार केन्द्रीय बैंकलाई ठूला दरका नोट छाप्न सस्तो पर्छ । अमेरिकी डलरको विनिमय दरमा आउने फेरबदल पनि छपाइको लागतमा ठूलोअन्तर पर्नसक्छ । राष्ट्र बैंकले सन् २०१४ मा १ हजार दरको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्चेको थियो । २०१६ मा यही नोट १ रुपैयाँ ९० पैसामा छापियो ।

Advertisement

गत १२ असोजमा चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’ सँग भएको सम्झौता अनुसार यही १ हजार दरको नोट छाप्न राष्ट्र बैंकले ३ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ । सन् २०१३ मा ३ दशमलव १३ रुपैयाँमा छापिएको ५ सय दरको नोट २०१६ मा २ दशमलव ९२ रुपैयाँमै छापियो । २० रुपैयाँको नोट ३ वर्षअघि १ रुपैयाँ ११ पैसामा छपाइएको थियो ।

केही अर्थविद् ठूला दरका नोटको चलनचल्तीले मुल्यवृद्धिमा पनि सहयोग पुग्ने बताउँछन् । उनीहरुको तर्कमा सानो नोटको अभावले मानिसमा पैसाको महत्व घट्न थाल्छ । यसले गर्दा खर्च बढ्ने र मूल्यवृद्धि हुने सम्भावना हुन्छ । तर, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं प्रवक्ता लक्ष्मीप्रपन्न निरौला यस्तो भनाइमा सहमत छैनन् । ‘ठूलो दरका नोट हुनेबित्तिकै बढी खर्च गर्छ भन्ने हुन्न’, उनी भन्छन्, ‘मूल्यवृद्धिसँग नोटको कुनै सम्बन्ध हुँदैन ।’

तपाईको प्रतिक्रिया