म्याग्दीको रुम गाउँमा म्युजिक फेस्टिबल हुँदै

पोखरा ।
लाली गुराँस युवा क्लबले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा रुम म्युजिक फेस्टिबल (शिक्षा र पर्यटनको लागि संगीत) २०२५ गर्न लागेको छ ।
ग्रामिण क्षेत्रमा शिक्षा र पर्यटन प्रवद्र्धनको लागि आगामी चैत २१ देखि २३ गते (अप्रिल ३ देखि ५ तारिख)सम्म फेस्टिबल गर्न लागेको क्लबका अध्यक्ष सुरेश पुनले जानकारी दिए । अल इन वान रेष्टुरेण्ट पोखरा लेकसाइडका सहयोगमा रुममा तेस्रो पटक फेष्टिबल हुन लागेको हो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष पुनले बताए ।
फेष्टिबलमा लोक गायक खड्ग गर्वुजा, पप गायक गंगा बरदान, लक्ष्य ब्याण्डका अलवा नेपाल र नेदरल्याण्डका चर्चित व्याण्डको प्रस्तुति रहने छ । फेष्टिबल गर्न २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
‘फेष्टिबलमा स्थानीय मौलिक लोक धुन र बाजाका साथै मारुनी नाँच, नौमती बाजाको प्रदर्शन गरिने छ,’अध्यक्ष पुनले भने, ‘फेष्टिबलबाट भएको बचत रकम शिक्षाको क्षेत्रमा खर्च गर्ने योजना छ ।’ उनले गत वर्ष भएको फेष्टिबलबाट बचत भएको रकमबाट गाउँका विपन्न र जेहेन्दार १ सय विद्यार्थीलाई विद्यालय पोशाक, झोला, स्टेशनरी सामाग्री वितरण गरेको जानकारी दिए ।
उनले अहिलेको फेष्टिबलबाट भएको बचत रकमबाट विद्यार्थीलाई शैक्षिक सहयोग गर्नुका साथै खेलकुदका सामाग्री प्रदान गर्ने योजना सुनाए । उनले गाउँ भरीको प्लाष्टिकजन्य फोहोरमैलाको संकलन गरी व्यवस्थापन गर्ने बताए । पर्यापर्यटनको सम्भावना रहेको रुम गाउँमा लाली गुराँस फुल्ने मौसम पारेर फेष्टिबल गर्न लागिएको हो ।
स्थानीय समुदाय, आमा समूह र युवा क्लबहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको छ । क्लबका अध्यक्ष पुनका अनुसार दुरुलेकबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ । रुम गाउँमा भर्खरैदेखि घर आवास (होमस्टे) कार्यक्रम सुरुवात भएको छ । पोखराबाट सदरमुकाम बेनीहुँदै म्याग्दीको दोश्रो ठुलो बजार तथा मालिका गाउँपालिकाको केन्द्र दर्बाङ भएर करिब ५ घण्टामा रुम गाउँ पुग्न सकिन्छ ।
तपाईको प्रतिक्रिया