मुस्ताङको कोवाङमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण

समाधान संवाददाता २०७६ कार्तिक १७ गते १५:५०

एसके थकाली, जोमसोम

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउपालिका–२ कोवाङमा आईतबार नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तर भएको छ । संघीय आयोजना कार्यान्वयन ईकाई कास्की ईन्जिनीयर शुशिल आचार्यले भवनको निर्माणको प्रमाणिकरण वडाअध्यक्ष नरप्रसाद हिराचनलाई हस्तान्तरण गरेका हुन् ।

नवनिर्मित २ तले पक्की स्वास्थ्य चौकी भवन २ वर्षअघि साविक डिभिजन कार्यालय बाग्लुङले सुरु गरेको हो । कुल स्टमेट १ करोड ४३ लाख भएपनि १ करोड १० लाख रुपैयामा महादेव÷नानाजेभी संग ठेक्का सम्झौता भएको थियो । संघीयता कार्यान्वयनपछि भवनको जिम्मा संघीय आयोजना कार्यान्वयन ईकाईले लिएको थियो ।

Advertisement

स्वास्थ्य मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागको डिजाईन रहेको स्वास्थ्य चौकी भवनको संरचना मेशिनरी टाईप टु लोडबेरिङ प्रविधिको छ । भवनको उपल्लो तलामा ८ कोठा र ३ शौचालय छ भने भुईतलामा ६ वटा कोठा र शौचालय छ । बेनी–जोमसोम सडक मार्गको पुर्वमा रहेको उक्त भवनको चारैतिर कम्पाण्ड वाल लगाईएको छ ।

भवन हस्तान्तरण कार्यक्रमको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले उद्घाटन गरे । सांसद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि आफुले निरन्तर पहल गरेको बताए । पछिल्लो समय मुस्ताङमा सडक सञ्जालसंगै पर्यटक आवागमन बढेको उल्लेख गर्दै सांसद तुलाचनले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे । महादेव÷नानाजेभीका निर्माण व्यवसायी कृष्णकुमार शेरचनले भवनमा समस्या र कमजोरी देखिए अविलम्ब सुधार गर्ने जनाए । वडाअध्यक्ष नरप्रसाद हिराचनले स्वास्थ्य चौकी भवन स्थापनाले थासाङका १० वटा लाभान्वित हुने उल्लेख गरे । उनले शिक्षा स्वास्थ्यमा सर्वसाधारणको पहुच पुर्‍याउन सरकारले प्राथमिकता दिएको बताए । उनले पालिकाको समृद्धि र विकासमा एकआपसका तित्ततालाई त्याग्नु पर्ने जनाए ।

Advertisement

थासाङको लेतेमा स्वास्थ्य रहेपनि कुञ्जो र कोवाङमा उपस्वास्थ्य चौकी थियो । यि उपस्वास्थ्य चौकीलाई स्तरबृद्धि गर्दै स्वास्थ्य चौकीमा रुपान्तरण गरिएको वडासदस्य गौतम शेरचनले जानकारी दिए । डिभिजन कार्यालयले यसअघि स्तर बृद्धि गरेको कुञ्जोमा स्वास्थ्य चौकी भवन २०७५ सालको बाढी पहिरोले भवनलाई पूर्ण रुपमा क्षति पुर्‍याएको थियो भने कोवाङमा अहिले हस्तान्तरण भएको हो ।

तपाईको प्रतिक्रिया