प्याब्सु कास्कीमा विजयराजको नेतृत्व

पोखरा ।
निजी तथा संस्थागत विद्यालय शिक्षक/कर्मचारी युनियन (प्याब्सु) नेपाल चौथो कास्की जिल्ला भेला तथा अधिवेशन २०८१ शनिबार भएको छ । अधिवेशनले अध्यक्ष विजयराज अधिकारीको नेतृत्वमा १० सदस्यीय कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष गंगा आले, सचिव कल्पना गुर्मछाने र कोषाध्यक्षमा मीना भण्डारी छन् । कमिटीको सदस्यमा विद्या अर्याल, मोतीमाया गुरुङ, मिजास तिवारी, प्रज्ञात तिमिल्सिना, महेश पौडेल र शर्मिला धमला रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध विद्यालयलाई सम्मान गरिएको छ । सम्मानित हुने विद्यालयमा कास्की मोर्डनाइज्ड एकेडेमी, पश्चिमाञ्चल मावि, पोखरा पब्लिक स्कुल, गोल्डेन नेचर स्कुल, गोल्डेन फ्युचर बोर्डिङ स्कुल र रेन्बो एकेडेमी छन् ।
संस्थाका पूर्व अध्यक्षहरु शिवलाल उपाध्याय, रामचन्द्र शर्मा र ज्ञानबहादुर कार्कीलाई सम्मान गरिएको छ । प्याब्सु नेपालका केन्द्रीय अध्यक्ष शिवलाल उपाध्यायले अधिवेशन उद्घाटन गर्दै निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीलाई विद्यालयले अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न माग गरे ।
उनले आगामी शैक्षिक सत्रदेखि सामाजिक सुरक्षा कोष लागू गर्न विद्यालयका संस्थापक समक्ष आग्रह गरे । प्याब्सुले सुरक्षा कोषसहित विभिन्न ९ बुँदे माग राखेको जानकारी दिदै उनले माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिए । देशभर रहेका निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयमात्र सामाजिक सुरक्षाकोषमा आवद्ध भएको उल्लेख गर्दै उनले कास्कीमा सामाजिक सुरक्षा कोषमा आवद्ध विद्यालयलाई सम्मान गरेको बताए ।
अधिवेशनको उद्घाटन समारोहमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख गोविन्द पोखरेल, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्री, श्रम तथा रोजगार कार्यालय गण्डकीका प्रमुख सुरेशराज ढकाल, सामाजिक सुरक्षा कोष प्रदेश सम्पर्क कार्यालयका प्रमुख रमेश ढुंगेल, प्याब्सु नेपालका प्रतिनिधि परिषद् प्रमुख माधव पौडेल, केन्द्रीय सचिव मिलन तिमिल्सिनाले बोलेका थिए ।
समारोहमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम शर्मा सुवेदी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, युनिप्स नेपालका सचिव आनन्दराज अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसी लगायतले निजी विद्यालयका शिक्षक/कर्मचारीका समस्याका बारेमा बोलेका थिए । प्याब्सु नेपाल कास्कीको अधिवेशनको सन्दर्भमा अमरसिंहचोकबाट मोटरसाइकल र्यालीसमेत निकालिएको छ ।
तपाईको प्रतिक्रिया