तकामको कोसेलीः कोदोको बिस्कुट

म्याग्दी ।
म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एन्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन थालेका हुन् ।
‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन आरम्भ गरिएको हो । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,’ अनील भन्छन्, ‘स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’
मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा)लाई १ सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन १ सय ३० रुपैयाँमा बेच्ने गरिएको छ । काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ ।
पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले उल्लेख गरे । मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्ने गरिएको छ ।
३७ वर्षीय भण्डारी रोजगारीका लागि ६ वर्ष मलेसिया, २ वर्ष कतार, २ महिना साउदी र ४५ दिन युएईमा काम गरेर घर फिरेका हुन् । भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले आफ्नै जग्गामा करिब ७५ लाख लगानीमा पूर्वाधार बनाइरहेका छन् ।
धवलागिरी गाउँपालिका ७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गर्ने आश्वासन दिए । ‘कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,’ वडाअध्यक्ष खत्रीले थपे, ‘विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्छ ।’ रासस
तपाईको प्रतिक्रिया