कालीगण्डकी करिडोरमा कार्यरत दुई जना मृत फेला

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई जना पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पालपाका अनुसार मृतकहरु सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी रहेका छन्।
प्रहरीका अनुसार दुबै जना कालीगण्डकी करिडोर सडक निर्माण परियोजनामा संलग्न कामदार थिए।
भोजराज अस्लामी मगर बगनासकाली गाउँपालिका–६, दर्पुकस्थित अस्थायी क्याम्पमा बस्दै डोजर अपरेटरको रूपमा कार्यरत थिए। फागुन २६ गते राति खाना खाएर सुतेका उनी भोलिपल्ट बिहान क्याम्पमा नभेटिएपछि खोजीकार्य सुरु गरिएको थियो। पाँच दिनपछि शनिबार राति उनको शव माईचौरस्थित कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए।
तेजबहादुर रास्कोटी राम्दी–रानीमहल सडकखण्डमा कार्यरत थिए। प्रहरीका अनुसार उनी नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजी गर्दा घटनास्थलबाट करिब २०० मिटर तल उनको शव फेला परेको डीएसपी मल्लले बताए।
प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ भने रास्कोटीको शव पाल्पा अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया