सम्पादकीय—कोरलामा पूर्वाधार थप

नेपालको उत्तरी सिमानामा अवस्थित कोरलानाका पछिल्लो समय नेपाली आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशी पर्यटकहरू नाका क्षेत्रमा पुगेर फोटो खिच्ने, सीमास्तम्भ अवलोकन गर्ने, र चीनतर्फको भव्य संरचना नियाल्ने क्रियाकलापमा अभ्यस्त भइरहेका छन् । गर्मीयामसँगै दैनिक सयौंको संख्यामा स्वदेशी पर्यटकहरू कोरलानाका पुगिरहेका छन् ।
नेपाल–चीन व्यापारिक मार्गको रुपमा विकास हुनसक्ने सम्भावना बोकेको कोरलानाका उपल्लो मुस्ताङको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । भारतीय नाकाबन्दीपछि चर्चामा आएको यो नाका हाल पर्यटनका लागि मुख्य गन्तव्य बन्दै गएको छ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिले पर्यटकलाई सहज यात्रा गर्न सक्ने वातावरण सिर्जना गरेको छ ।
तर, बढ्दो पर्यटकीय चापलाई व्यवस्थापन गर्न आवश्यक पूर्वाधार विकासको अभावले समस्याहरु सिर्जना गरिरहेको छ ।
कोरलानाकामा होटल, रेस्टुरेन्ट, शौचालय तथा अन्य आधारभूत सुविधाहरूको अभाव छ । सामान्य शौचालय समेत नहुँदा गाडीको छेल पारेर वा लाजै पचाएर शौच गर्नुपर्ने वाध्यता छ । सरकारको उदासिनताका कारण भन्सार र अध्यागमन जस्ता अत्यावश्यक सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन् । केही महिना अघि नेपाल सरकारका गृहमन्त्री र गण्डकीका मुख्यमन्त्री पुगेर कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गरे । तर जुन तामझामका साथ कार्यालय उद्घाटन गरियो, त्यस अनुसार सञ्चालनमा तदारुकता सरकारले देखाएको छैन ।
कोरलानाकामा विदेशी पर्यटकहरुको संख्यामा न्यूनता देखिनुको मुख्य कारण प्रवेश अनुमतिसम्बन्धी कठोर नियम हो । ५ सय अमेरिकी डलर तिरेर मात्र उपल्लो मुस्ताङ भ्रमण गर्न सक्ने व्यवस्था विदेशी पर्यटकका लागि निरुत्साहजनक बनेको छ । पर्यटन प्रवद्र्धनका लागि यो शुल्क पुनरावलोकन गर्न आवश्यक छ । चीनले कोरलानाकालाई व्यापारिक ट्रान्जिट पोइन्टको रूपमा विकास गरिरहेको छ । चीनतर्फ अत्याधुनिक पूर्वाधार निर्माण भइसकेको भए पनि नेपाली पक्षबाट तुलनात्मक रूपमा अल्पविकसित संरचनाहरू मात्र देखिन्छन् । यदि नेपालले समयमै कोरलानाका क्षेत्रको व्यवस्थापन र पूर्वाधार विकासमा ध्यान नदिने हो भने यो पर्यटन प्रवद्र्धनको अवसर गुम्ने सम्भावना उच्च छ ।
नेपाल सरकारले कोरलानाकालाई व्यवस्थित बनाउन रणनीतिक योजना आवश्यक छ । स्थानीय स्तरमा व्यवसाय प्रवद्र्धन गर्न अनुदान, सहुलियतपूर्ण ऋण तथा पूर्वाधार विकास योजनाहरू ल्याइनुपर्छ । चीनसँगको व्यापार प्रवद्र्धन गर्ने र पर्यटनलाई दिगो बनाउने लक्ष्यका साथ सरकार अघि बढ्नुपर्छ । कोरलानाका सम्भावनालाई सदुपयोग गर्न राजनीतिक इच्छाशक्ति र दिगो योजनाको खाँचो छ ।
तपाईको प्रतिक्रिया