पोखरामा पहिलोपटक ‘अटो सो’ हुने

समाधान संवाददाता २०८१ चैत ५ गते १८:११

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलोपटक अटोमोबाइल्स प्रदर्शनी ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको संयुक्त प्रस्तुतिमा आयोजना हुने यो प्रदर्शनी चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुने वाडा उपाध्यक्ष एवं वाडा अटो सो २०२५ संयोजक निरन केसीले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको विस्तार, प्रवद्र्धन तथा आधुनिक प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले आयोजना गर्न लागिएको संयोजक केसीले जानकारी दिए । पर्यटनको राजधानी पोखरामा पहिलो पटक हुन लागेको यस प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, प्रविधि, सेवा प्रदायक, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय संस्था तथा सम्बन्धित क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहनेछ ।

अटो सोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिने

प्रदर्शनीलाई गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले प्रवद्र्धन गरिरहेका छन् । यसका अतिरिक्त पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा, अमरसिंह माध्यमिक विद्यालयलगायत संस्थाहरू सहकार्यकर्ता छन् । प्रदर्शनी व्यवस्थापनको जिम्मा ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले लिएको छ ।

अटो सोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिने संयोजक केसीले जानकारी दिए । २० वटा स्टलमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकका सामग्रीहरू समेत राखिनेछन् ।
सवारी साधन सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । पोखरा लायन्स क्लबको सहकार्यमा चैत १५ गते रक्तदान कार्यक्रमसमेत आयोजना गरिने उल्लेख छ ।

Advertisement

प्रदर्शनीको टिकटिङ पार्टनर खल्ती एप, इन्टरनेट पार्टनर पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्ट हिटको प्रालि, अफिसियल इन्स्योरेन्स सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ट्राभल पार्टनर स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनर होटल शारा, हस्पिटल पार्टनर नेपाल मनिपाल कलेज अफ मेडिकल साइन्सेस (मनिपाल हस्पिटल) छन् ।

अटो सोको प्रचारप्रसारलाई प्रभावकारी बनाउन चैत ९ गते शनिबार बिहान ८ बजे पोखरा रंगशालाबाट सुरु भई अमरसिंह मैदानमा सम्पन्न हुने गरी मोटर र्‍याली आयोजना गरिने संयोजक केसीले जानकारी दिए । बन्दीपुर केबलकार एन्ड टुरिजम लिले ३०० वटा केबलकार टिकट डोर प्राइज अन्तर्गत प्रदान गर्ने जनाएको छ । जसलाई गोलाप्रथामार्फत विजेताहरूले प्राप्त गर्नेछन् ।

अटो प्रदर्शनीले गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको बजारीकरण, प्रविधि हस्तान्तरण तथा नवप्रवर्तनका लागि प्लेटफर्म उपलब्ध गराउने उल्लेख छ । व्यवसायी तथा ग्राहकहरूबीच प्रत्यक्ष संवादको अवसर प्रदान गरी सवारी साधन खरिद–बिक्री प्रक्रियालाई थप व्यवस्थित गर्ने विश्वास गरिएको छ । प्रदर्शनी अवधिभर करिब ३५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया