जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’

काठमाडौं । लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरियो ।
लेखक बस्नेतले पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए ।
‘यो पुस्तक सीधा यात्रा संस्मरण होइन, रहस्यमय स्थानको रोचक शिल्प पनि हो,’ उनले भने, ‘यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ ।’
लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जनाए । ‘यसमा लेखकले लेखनमा फरक शैली अपनाउनुभएको छ,’ उनले भने, ‘संस्मरणमा नयाँ प्रयोग गरेर पुस्तकको थप ओज बढाउनुभएको छ ।’ चिसो स्थानका कथा भए पनि यसले लेखनको न्यानोपन आभास गराउने बस्नेतको भनाइ छ । हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताए । ‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ,’ उनले भने, ‘फर्किएर आएपछि केही स्रोत सामग्री अध्ययन गरें । र पुस्तक लेखनलाई तीव्रता दिइहालें ।’ त्यसैले पनि एक वर्ष हाराहारीको समयमा पुस्तक ल्याउन सम्भव भएको लामिछानेले जनाए ।
‘अक्षत अन्टार्कटिका’मा लेखकलेसन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।
अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा–वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।
नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।
पुस्तक पढिसकेपछि थाहा हुन्छ, अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि छ । के त्यो चमत्कृत पार्ने सौन्दर्यलाई हामीले भावी पुस्ताका लागि सुरक्षित राखिदिन सक्छौं ? यो पुस्तक पढिरहँदा पाठकको मन–मस्तिष्कमा यही प्रश्नले हस्तक्षेप गरिरहन्छ ।
को हुन् जीवा लामिछाने

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष हुन् ।
सन् २०११ र २०१८ मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् सदस्यमा नियुक्त लामिछाने नेपाल सरकारले प्रदान गर्ने प्रबल जनसेवाश्री (सन् २०१३) र कीर्तिमय राष्ट्रदीप (सन् २०२३) बाट विभूषित छन् । बैङ्किङ, जलस्रोत, शिक्षा, स्वास्थ्य, बिमा, होटललगायत व्यवसायमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी गर्नुभएका उहाँले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याइरहेका छन् । संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासङ्ग्रह प्रकाशित छन् । आज लोकार्पित हुने पुस्तक ‘अक्षत अन्टार्कटिका’उनको तेस्रो कृति हो ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया