पत्नीको ४५ दिनको पुण्य तिथिमा सामग्री हस्तान्तरण

समाधान संवाददाता २०८१ चैत ६ गते १०:३३

स्याड्जा । पुतलीबजार नगरपालिका वडा नं १, चन्द्रनगर घुम्ती, स्याङ्जा निवासी समाजसेवी चित्रबहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनको पुण्य तिथिमा सामग्री हस्तान्तरण गरेका छन् ।

Advertisement

४५ औं पुण्य तिथिका दिन आज आफ्नै निवासमा आयोजित एक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील सामाजिक संस्था ‘अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल, स्याङ्जा’का अध्यक्ष युवराज पराजुलीलाई २ थान व्हिलचियर र १ जोडी वैशाखी हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै उनले भने, “पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन अत्यन्तै कष्टकर हुन्छ, मैले आफैले यसलाई देखेको छु। जीवनसंगिनीको स्वर्गारोहणको ४५ दिनको पुण्य तिथिमा संस्था मार्फत सहयोगी सामाग्री हस्तान्तरण गरेको छु र आगामी दिनमा पनि सहयोग गर्न तत्पर छु।”

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व जिल्ला सभापति चन्दमणि पौडेल, वरिष्ठ समाजसेवी खेमनारायण शर्मा, वयोवृद्ध समाजसेवी कुलबहादुर पौडेल, संस्थाका सदस्य भविलाल विक, स्वयंसेवक सविना पोखरेल लगायतले स्वर्गीय हुम कुमारी मल्लप्रति श्रद्धाञ्जली अर्पण गर्दै, संस्था मार्फत् ती सामग्रीहरू अति आवश्यक व्यक्तिहरूले प्राप्त गर्ने बताएका छन्।

मल्लको ८४ वर्षको उमेरमा गत २०८१ माघ २१ गते निधन भएको थियो।

Advertisement

अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र – नेपाल, स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले प्राप्त सामग्री हस्तान्तरण गर्ने परिवारका सदस्यहरूको उपस्थितिमा आवश्यक अपाङ्गता भएका व्यक्तिहरूलाई वितरण गरिने बताएका छन् र मल्ल परिवारप्रति धन्यवाद ज्ञापन गरेका छन्। स्याङ्जा जिल्लामा ६ हजार ७ सय ६० जना अपाङ्गता भएका व्यक्ति रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार देखिन्छ।

तपाईको प्रतिक्रिया