डेन्टल हाइजिनिस्टले मागे अधिकार

पोखरा । नेपालमा कार्यरत डेन्टल हाइजिनिस्टहरुले कानुनले प्रत्याभूति गरेका अधिकार राज्यले ग्यारेन्टी नगरेको भन्दै त्यसलाई बदल्न माग गरेका छन् । बिहीबार मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिटका वक्ताहरुले यस्तो बताएका हुन् ।
एसोसियसन नेपालका डेन्टल हाइजिनिस्टहरुको छाता संगठन हो । संगठनले बिहीबार मार्च २० अर्थात् विश्व मुख स्वास्थय दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार पोखरामा आयोजना गरेको हो । नेपालभर एक हजार चार सयभन्दा बढी डेन्टल हाइजिनिस्ट रहेको बताइन्छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष माइकल देवकोटाले राज्यको नीतिगत तहमा डेन्टल हाइजिनिस्टहरुको प्रतिनिधित्व सुनिश्चित गरी ऐनले दिएका अधिकार दिन आग्रह गरे ।
हालै ५, १० र १५ बेडका अस्पतालमा डेन्टल हाइजिनिस्टको दरबन्दी हुने व्यवस्था भए पनि दरबन्दीमा तहगत समस्या रहेको उनले औंल्याए । ‘दरबन्दीमा तहगत समस्या छ, ऐनमा भएको व्यवस्थालाई रोक्ने गरी निर्देशिका ल्याएर क्लिनिक खोल्न रोकिएको छ,’ उनले भने ।
अध्यक्ष देवकोटाले गाउँ गाउँमा निशुल्क अभियान चलाएर नेपालीलाई मुख स्वास्थ्यको चेतना दिन आफूहरु तयार रहेको बताए । उनले तालिम, भक्ता, अवसर जस्ता पक्षमा आफूहरुमाथि विभेद भएको गुनासो गरे ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले महिला स्वास्थ्य स्वयंसेविका जस्तै डेन्टल हाइजिनिस्टहरुले तल्लो तहसम्मै आधारभूत दन्त सेवा दिइरहेको बताए । उनले गण्डकीको स्वास्थ्यसम्बन्धी नीति निर्माणमा संस्थालाई प्रतिनिधित्व गराउने आश्वासन दिँदै उनले ऐनले ग्यारेन्टी गरेका अधिकार कुण्ठित हुन नहुने उल्लेख गरे ।
‘ऐन, कानुनले क्लिनिक खोल्ने अधिकार दिएको छ भने निर्देशिका, कार्यविधि बनाएर अधिकार हनन गर्न पाइँदैन,’ उनले भने, ‘यसलाई सुधार्ने उपाय खोज्न म समन्वय गर्ने छु ।’ उनले रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिने दायित्व निर्वाह गर्न आग्रहसमेत गरे ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुबोधकुमार शर्माले नेपालका कुनै कानुनले डेन्टल हाइजिनिस्टलाई क्लिनिक खोल्न नरोक्ने जनाउँदै यसका लािग परिषद्ले भूमिका निर्वाह गर्ने आश्वासन दिए । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेश अध्यक्ष युवराज पौडेल (अर्जुन)ले परिषद्ले बनाएको आचारसंहिता र ऐनबमोजिम काम गर्न पाउने अधिकारका लागि सबै डेन्टल हाइजिनिस्टहरुको एक मत हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा सात देशका ८० जना डेन्टल हाइजिस्ट सहमागी थिए । मुख स्वास्थ्य दिवसको अवसरमा बिहीबार बिहान एसोसियसन केन्द्र र गण्डकी प्रदेशले संयुक्त रुपमा कास्की कारागारका कैदी, बन्दीका लागि आवश्यक मञ्जन, ब्रस हस्तान्तरण गरेका छन् । यसअघि पोखराको न्युरोडबाट सभागृहचोक, सिर्जनाचोक, जिरोकिमी हुँदै बुलौदीसम्म सचेतनामूलक ¥याली निकालिएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय वक्ता दीपक सिम्खडाले बेलायतबाट भर्चुअलरुपमा प्रस्तुति राखेका थिए । सो अवसरमा एसोसियसनका महासचिव दिलीपकुमार गाहा र गण्डकी प्रदेश संयोजक डोलबहादुर थापाले पनि बोलेका थिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ । ने पालमा दाँत कीराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओले जनाएको छ ।
तपाईको प्रतिक्रिया