उम्मेदवारी फिर्ता गर्न हेलिकोप्टर चार्टर

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १२:३०

समाधान संवाददाता
पोखरा

बागलुङ क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभा उपनिर्वाचनमा सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चा नेपालका साझा उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारी कायम भएको छ । नेकपाकै असन्तुष्ट शेरमान घर्तीभगरले साझा उम्मेदवार खिमविक्रम शाही विरुद्ध हालेको बागी उम्मेदवारी नेकपाकै तर्फबाट फिर्ता लिन अन्तिमसमयसम्म प्रयास भए पनि विफल भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । नेकपाका स्थानीय नेताको जोडबलमा शेरमानलाई उम्मेदवारी फिर्ता लिन अन्तिम समयमा हेलिकप्टर चार्टर नै गरिएको थियो ।

Advertisement

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा उनकै होटल दरबारबाट बागलुङ सदरमुकाम निर्वाचन कार्यालयसम्म पुर्‍याइएको थियो । निर्वाचन पुग्दा उम्मेदवारी फिर्ता लिने समय घर्किसकेकाले उम्मेदवारी फिर्ता हुन नसकेको हो ।

उम्मेदवारी फिर्ता लिन कार्यालय पुगे पनि समय अभावका कारण प्राविधिक रुपमा फिर्ता लिन नसकिएको नेकपा बागलुङ अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

Advertisement

दिउँसो १ बजेसम्म अन्तिम समयसीमासम्म पनि कुनै पनि उम्मेदवारले नाम फिर्ता गर्नको लागि निवेदन नपरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । ‘फिर्ता लिनेसम्म पनि कुनै निवेदन परेको छैन,’ उनले भने, ‘प्रक्रियागत रुपमा उम्मेदवारी कायम हुन्छ ।’

बुर्तिवाङस्थित ढोरपाटनका मेयर देवकुमार नेपालीको होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा शेरमानलाई राखी सदरमुकामका लागि उड्दा नै १ बजेर ४ मिनेट बितिसकेको थियो । स्थानीय नेकपा नेता कार्यकर्ताले उनको उम्मेदवारी फिर्ता लिन गरेको प्रयास विफल भएपछि पुन छलफलमा जुटेका थिए ।

शेरमानलाई बागी उम्मेदवारी दिन नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर विक समर्थक बसेका थिए । तत्कालीन समयमा राजमोबाट बोबाङ गाविसका अध्यक्ष समेत भइसकेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको तर्फबाट ढोरपाटन नगरपालिकाको मेयर पदको चुनाव लडेका थिए ।

उक्त क्षेत्रबाट २०७४ को प्रदेश सभामा निर्वाचित राजमोका सांसद टेकबहादुर घर्तीको हृदयघातका कारण गत मंसिरमा निधनभएपछि रिक्त भएको थियो । टेकबहादुर तत्कालीन वाम गठबन्धनबाट नै विजयी भएका थिए ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार १० जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपाबाट गणेशबहादुर कुँवर र राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी उठेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनीलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्रबाट सन्तोष भण्डारी र शेरमान घर्तीमगरले उमेदवारी दिएका छन् । भण्डारी विवेकशीलबाट उठ्ने भनिए पनि विवेकशील निर्वाचन आयोगमा दर्ता नभएकाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहीलाई नै सघाउँछुः शेरमान
शेरमान घर्तीले बाग्लुङ २ ‘ख’ को प्रदेशसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट फिर्ता हुन नसके पनि विज्ञप्ति मार्फत नेकपा र राजमोका संयुक्त वामगठबन्धनका उम्मेदवारलाई नै सघाउने घोषणा गरेका छन् ।

। हेलिकप्टर चार्टर गरेर भएपनि संयुक्त उम्मेदवार खिमविक्रम शाही विरुद्ध परेको बागी उम्मेदवारी फिर्ता लिन लगाउने नेकपाको प्रयास विफल भएपछि उनले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलनमार्फत उपनिर्वाचनमा शाहीलाई नै सघाउने बताएका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा ‘विशेष कारणवश उम्मेदवारी फिर्ता हुन नसकेको’ बताएका छन् । साझा वामगठबन्धनका उम्मेदवार शाहीलाई समर्थन गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनले विज्ञप्ति मार्फत् नै शाहीलाई भोट समेत मागेका छन् ।

उनको नाम स्वतन्त्रको हैसियतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ । उनलाई उपनिर्वाचन कार्यतालिका अनुसार सोमबार चुनाव चिन्ह प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया