नमुना गाउँपालिका बनाउन गुरुयोजना

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १३:५५

रामकृष्ण लामिछाने
पर्वत

दक्षिण पर्वतको पैयुँ गाउँपालिका पर्वतमै पहिलो पटक नमुना गाउँपालिका बनाउन जुटेको छ । गाउँपालिकाले गत ३ महिनाको अवधिमा अभियानसहित राष्ट्रिय योजना आयोगसँगको समन्वयमा १५ वर्षे बृहत् योजना तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले बृहत् योजनाका बारेमा प्रष्ट पार्दै पैयुँ गाउँपालिकामा कृषि, जडिबुटी, पर्यटन, रोजगार, बालबालिका संरक्षण र शिक्षालाई जोडदिन सक्नु पर्ने औंलाएका छन् । पोखरेलले भने, ‘यि सूचकलाई आधार मान्दै गाउँपालिकाले कार्ययोजना बनाउन सक्नुपर्छ ।’ उनले थपे, ‘मुख्य सूचकका आधारमा कार्य सम्पादन हुन सकेको अवस्थामा पैयुँ गाउँपालिका विश्वका मध्यम आय भएका पालिकाको श्रेणीमा पुग्न सक्छ ।’ पालिकालाई वैज्ञानिक तबरहरु देखाएको संकेत हेर्दा सुधार गर्न सकिने क्षेत्र धेरै भएको चर्चा गरे ।

Advertisement

जनगणना २०६८ अनुसार गाउँपालिकामा १६ हजार जनाको बसोवास छ । हालको अवस्थामा करिव २ हजारको संख्यामा जनसंख्या बृद्धि भएको अनुमान छ । १५ वर्षे गाउँपालिकाको ढाँचाका बारेमा योजना आयोग कै पूर्व उपाध्यक्ष स्वर्णिक वाग्लेले पैयुँ गाउँपालिका कृषिको उच्च सम्भावना भएको हुँदा सिचार्इँ कार्यलाई पहिलो प्राथमिकतामा राख्न जोड दिए । वाग्लले जलधार क्षेत्रलाई पहिलो बिन्दुमा राख्न सुझाव दिए । गाउँपालिकामा खेती योग्य जमीन ६१ प्रतिशत रहेको तथ्य देखाउँदै उत्पादन भएका उपजलाई राष्ट्रिय राजमार्गसम्म जोडन् आवश्यक हुने सुनाए ।

बृहत् गुरुयोजना सार्वजनिक तथा छलफल कार्यक्रम पैयुुँको वडा नम्बर ४ त्रिबेणीमा भएको हो । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले गुरुयोजनाको पहिलो कार्यमा कृषि, जडिबुटी र पशुपालनलाई राख्ने योजना रहेको सुनाए । गाउँपालिकाले बसाइसराई रोक्न विभिन्न योजना अंगालेको तिवारीको भनाई छ । तिवारीका अनुसार गाउँपालिकाले विकासका सबै सूचकलाई सफल बनाउन स्थानीय सबै राजनीतिक दलबीचमा समन्वयको खाँचो हुने बताए ।

Advertisement

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य लालकाजी गुरुङले गाउँपालिकाले जिल्लामै पहिलो नमुना कामको थालनी गर्न लागेको बताए । उनले जनप्रतिनिधिले नहुने सपनाको भूमरीमा जनतालाई पार्न नहुने भन्दै सबैलाई सचेत गराए । गुरुङले राज्यले काम भन्दा सपना बाँड्ने काममा मात्रै केन्द्रित भएका कारण प्रतिपक्ष दल नेपाली कांग्रेसले यसको बिरोध गरिरहेको बताए ।

गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर विश्वकर्मा पौडेल, माहशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल, नेकपाका नेता एवं कांग्रेसका अगुवाले विभिन्न धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया