कांग्रेसका सबै संगठन चुनावमा होमियो

समाधान संवाददाता २०७६ कार्तिक २५ गते १५:०२

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ ।

सबै संघ–संगठनले भेलामार्फत प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ । यो चुनावमा कांग्रेसका भातृ समितिमा आवद्ध नेता कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । सबैले यस पटक केही गरेर देखाउने भन्दै चुनामा होमिएका छन् । संगठन प्रमुखहरूले आआफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष १ पटक अनिवार्य भेट्न निर्देशन दिएका छन् ।

Advertisement

नेपाल महिला संघ कास्कीकी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले महिला संघ लगायत सबै संगठनका नेता कार्यकर्ताले सबै मतदातालाई १ पटक अनिवार्य भेट्नुपर्ने भनेर निर्देशन दिइएको बताइन् ।

उनले भने, ‘पार्टीको निर्देशन अनुरुप हामी पनि समिति निर्माण गरि मतदाता भेट्घाट अभियान तीव्र बनाएका छौं । यो पहिलो चरणको कार्यक्रम हो । मतदाताका गुनासा सुन्ने र पार्टीको नीति मतदातामा पस्कने काम अहिले भएको छ ।’

Advertisement

त्यस पश्चात् मतदाताका समस्या पार्टीमा राख्ने र सोही बमोजिमको घोषणापत्र लिएर पुनः टोलटोलमा पुग्ने लक्ष्य रहेको उनले बताइन् । ‘यतिबेला कांग्रेसका सबैमा उत्साह छाएको छ, सबै चुनावमा परिचालित भएका छन्’, रानाभाटले भनिन् ।

कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका मूल संयोजक कृष्ण केसीले शरीरका सबै अंग चलेजसरी कांग्रेसका नेता कार्यकर्ता खटिएको बताए । उनले यो चुनावमा सबै नेता कार्यकर्ता उत्साहित भएको भन्दै कांग्रेसको पक्षमा माहोल राम्रो देखिएको बताए ।

उनले भने, ‘कम्युनिष्ट रवैयाले जनता आक्रान्त थिए । कम्युनिष्ट र कांग्रेस बीचको फरक जनताले बल्ल बुझे । यसले कांग्रेसप्रति विश्वास बढेको छ ।’ उम्मेदवारका कारणले पनि कांग्रेसको माहोल राम्रो देखिएको सभापति केसीले बताए ।

कांग्रेसका नेता कार्यकर्ता अहिले जत्तिको उत्साहित र सक्रिय भएको आफूले कहिल्यै नपाएको उनले स्पष्ट पारे । कांग्रेसले कास्की २ मा नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस कास्कीले निर्वाचन प्रचार अभियान अन्तर्गत घरदैलो कार्यक्रम तीव्र बनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत घरदैलो अभियान सोमबार सबै वडामा जारी छ ।

तपाईको प्रतिक्रिया