सराङकोट महायज्ञबाट साढे २ करोड बचत

समाधान संवाददाता २०८१ चैत १४ गते ११:०२

पोखरा ।
फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सवमा करिब साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले बिहीबार महायज्ञको आयव्यव विवरण सार्वजनिक गरेको हो ।

Advertisement


यज्ञबाट ३ करोड १ लाख ९२ हजार ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई २ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत भएको महायज्ञका महासचिव भेकबहादुर थापाले जानकारी दिए । उनले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको स्पष्ट गरे ।


कार्यक्रममा महायज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले सबैको साथ, सहयोगले यज्ञ सफल भएको जनाए । उनले आयोजक सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको क्रियाशीलताको प्रशंसा गरे ।


समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खटिने सबैप्रति आभार प्रकट गर्दै २० वर्षसम्मको निरन्तर साधनाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको बताए । जिसीले सराङकोटको स्तरवृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीय लगायत सबै भक्तजनप्रति धन्यवादसमेत प्रकट गरे ।


पोखरा १८ की वडा सदस्यसमेत रहेकी महायज्ञ मूल आयोजक समिति सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको जनाउँदै यो धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने विचार राखिन् । कार्यक्रमका बीच महायज्ञमा सहयोग पुर्‍याउनुहुने आमा समूह, युवा क्लब, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ, संस्था एवं व्यक्तित्वलाई सम्मान गरिएको छ ।

Advertisement


कार्यक्रममा महायज्ञका सचिव डिलबहादुर जिसीले पनि बोलेका सथिए । सराङकोटमा विसं. २०६१ देखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ती, १०८ शिवलिंग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् ।
ती संरचना निर्माणमा हालसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया