भाडा नबुझाउने बसपार्क सञ्चालकलाई सरकारी सेवा, सुविधामा रोक

सुन्दरकुमार थकाली २०८१ चैत १४ गते १६:१५

जोमसोम ।
मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा, सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ ।

Advertisement


मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित २ सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुरउपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ ४ जोमसोमका सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा, सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।


गाउँपालिकालाई असुलउपर नभएसम्म बसपार्क ठेक्का लिएका उहाँलाई गाउँपालिका, वडा कार्यालय लगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदान लगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।


‘पुरानो बसपार्क ठेक्का भंग भएको छ र नयाँ ठेक्का लगाउने तयारी हुँदै छ’, उनले भने, ‘बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० संशोधन गरी नयाँ कार्यविधि २०८१ जारी भइसकेको छ ।’


गाउँपालिकाको राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्ने गरी मुकामको सौन्दर्र्यता जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका २ बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो ।

Advertisement


प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने शर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।

गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधान अनुसार सुरुआती ३ महिनाको अग्रिम भाडा धरौटी ५ लाख ५हजार २ सय २५ र सम्झौता अवधि २ वर्षको भाडाको ५ प्रतिशत हुन आउने रकम २ लाख २ हजार ५ सय गरी ७ लाख ८ हजार ७ सय ५० गाउँपालिकालाई बुझाएका थिए ।

गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले २ पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो ।


गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मी लगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि ३ जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो ।


स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भंग गरेको पत्र गाउँपालिकामा पठाएका थिए ।


गत वर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया