सहकारी दिवसमा अन्तक्र्रिया

समाधान संवाददाता २०८१ चैत १५ गते १८:२६

पोखरा । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा समीक्षा तथा अन्तक्र्रिया गोष्ठी भएको छ । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरका सहकारी संघका प्रतिनिधि, विषयगत संघका पदाधिकारी, सहकारी विज्ञ तथा सरोकारवालाको उपस्थिति थियो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले सहकारीलाई मर्यादित बनाउन सके समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताइन् । उनले सहकारी प्रणालीलाई यसको मर्म, भावना र सिद्धान्त अनुसार सञ्चालन गर्न सके आर्थिक समृद्धिसँगै सामाजिक रुपान्तरणमा योगदान पुग्ने धारणा राखिन् । सदस्यबीच आपसी विश्वास बढाई नियमित सेवामा सक्रिय सहकारीहरूको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

मन्त्रालयका सचिव वासुदेव रेग्मीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहकारीको भूमिका महत्वपूर्ण रहने जनाए । उनले सुन्तला, स्याउ, आलु, अलैंची जस्ता कृषिजन्य उत्पादनलाई सहकारीहरूले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । कृषि विकास निर्देशनालयका महानिर्देशक बालकृष्ण अधिकारीले निर्देशनालय अन्तर्गतका कार्यालयबाट सहकारीलाई आवश्यक परामर्श तथा सहकार्य गर्न सकिने जानकारी गराए ।

गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजीप्रसाद अधिकारीले स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज केही विदेशी बजारमा निर्यातको तयारी भइरहेको जानकारी दिए । उनले एसियाली विकास बैंकबाट प्राप्त हुने अनुदानलाई साना किसान मोडलमा ढाली कृषिमा लगानी गर्ने योजना सुनाए ।

कार्यक्रममा बागलुङ, नवलपुर, लमजुङ, कास्की, गोरखा, तनहुँ, पर्वत लगायतका जिल्लाका सहकारी संघका अध्यक्ष तथा पदाधिकारीले जिल्लागत सहकारीहरूको अवस्था, समस्या तथा समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए । सहभागीले सहकारीहरूको ऋण असुली प्रक्रियालाई सहज बनाउनुपर्ने, सहकारी नियमन र अनुगमन प्रभावकारी बनाउनुपर्ने, निष्क्रिय सहकारीलाई पुनः सक्रिय बनाउनुपर्ने, उत्पादनमुखी सहकारीहरूको विकासमा जोड दिनुपर्ने लगायतका विषयमा सुझाव दिए ।

Advertisement

गण्डकीका सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशका सहकारीहरूको अवस्था, चुनौती तथा समाधानका उपायबारे छलफल गरेका छन् । कार्यक्रममा शाखा अधिकृतद्वय ईश्वरी ढकाल र चोलाकान्त वाग्लेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया