सुनचाँदी व्यवसायीलाई व्यवस्थित गर्न ऐन माग

समाधान संवाददाता २०८१ चैत १५ गते १८:५०

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्यविधि निर्माण गरी सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ । अरु व्यवसायीका लागि कानुन, ऐन, कार्यविधि भए पनि सुनचाँदी व्यवसायीका लागि ऐन, नियम नभएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए ।

महासंघले पोखरामा शनिबार गर्न लागेको १२ औं वार्षिक साधारण सभाको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष रसाइलीले विना कार्यविधि तथा निर्देशिका काम गर्दा व्यवसायी बारम्बार समस्यामा परेको बताए । ‘सुनचाँदी व्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड बनाएर लागू गर्न आवश्यक छ,’ अध्यक्ष रसाइलीले भने, ‘प्रष्ट कार्यविधि तथा निर्देशिका अभावमा व्यवसायीले विभिन्न किसिमका समस्या झेल्नु परेको छ ।’

उनले जुनसुकै पेशा, व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर सुनचाँदी व्यवसायको क्षेत्रमा कार्यविधि नभएकाले व्यवसायीले बारम्बार अनावश्यक झमेला व्यहोर्नु परेको गुनासो गरे । उनले निर्वाध रुपमा पेशा व्यवसाय गर्नका लागि निर्देशिका आवश्यक भएको बताए ।

Advertisement

उनले निर्देशिका बनेपछि सुनचाँदीको बजार व्यवस्थित हुने दाबी गरे । उनले बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित गर्नसमेत आग्रह गरे । दैनिक २० किलोमात्र कोटा प्रणालीमा निर्भर रही पेशा, व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अध्यक्ष रसाइलीले बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था सुनिश्चित नहुँदा व्यवसायीले धेरै समस्या बेहोर्नु परेको दुखेसो गरे ।

अध्यक्ष रसाइलीले पर्याप्त मात्रामा सुन आपूर्ति व्यवस्था सुनिश्चित गर्न, सदस्य संख्या र पान नम्बरको आधारमा सुनको वितरण गर्ने वातावरण मिलाउन आग्रह गरे । उनले बजारको माग अनुसार दैनिक ४० किलो सुन आपूर्ति गर्नुपर्ने जनाए । कर तिरेको आधारमा सुन दिन आग्रह गर्दै उनले बैंकको बिल लिएर सुनको ओसारपसार गर्दा समस्या भएकाले पोखराका व्यवसायीले पोखरामा सुन किन्न पाउनुपर्ने माग गरे ।

Advertisement

उनले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ तत्काल परिमार्जन गरी समसामयिक र व्यवहारिक बनाउन नेपाल राष्ट्र बैंकलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको स्मरण गरे । २०६८ सालमा जारी भएको कार्यविधि अव्यवहारिक भएको र कार्यविधिले आम सुनचाँदी व्यवसायीको समस्या सम्बोधन नसकेकाले परिमार्जन आवश्यक भएको उनले उल्लेख गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले महासंघले निर्धारण गरेको सुनचाँदीको दरभाउलाई नेपाल राष्ट्र बैंकले मान्यता दिने जानकारी दिए । युद्वका बेलामा व्यवसायीले सुरक्षित कारोबार गर्न चाहने उल्लेख गर्दै उनले युद्धको बेलामा नै सुनको भाऊ बढ्ने बताए ।

महासंघका सचिव निर्मल दियाली सुनारले सुनचाँदी क्षेत्रमा आबद्ध व्यवसायीको हक, अधिकारको सुनिश्चितता तथा सुनचाँदीका गरगहनाको खरिद, बिक्री एवं कारोबारमा देखा परेका समस्यालाई महासंघले समाधान गर्ने जनाए । उनले ‘एकता, दक्षता, व्यवसायिक सहजता र पारदर्शिता, हाम्रो साझा प्रतिबद्धता’ भन्ने नाराका साथ हुने साधारण सभामा ८० जिल्ला तथा नगर, १ वस्तुगत संघ र २२ एसोसियट सदस्यसहित ७ सय प्रतिनिधिले भाग लिने बताए ।

महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्माले विद्यमान विधानको तेस्रो संशोधन गर्ने एजेन्डा साधारण सभामा पेश गर्ने उल्लेख गरे ।

वार्षिक साधारण सभाले सुनचाँदी व्यवसायलाई अझ मर्यादित, प्रतिस्पर्धी, गुणस्तरयुक्त, पारदर्शी र दिगो बनाउने लगायतका एजेन्डालाई समेटेर पोखरा घोषणापत्र जारी गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया