सम्पादकीय—अपराधीलाई कठघरामा उभ्याऊ

समाधान संवाददाता २०८१ चैत १६ गते १०:२२

काठमाडौंमा राजावादीहरूले शुक्रबार गरेको आन्दोलन हिंसात्मक हुँदा २ युवाको मृत्यु भएको छ । प्रदर्शनकारीले निजी घर, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालयदेखि सवारी साधनसम्ममा तोडफोड र आगजनी गरेका छन् । कतिपय ठाउँमा लुटपाट भएको छ भने रिपोर्टिङका लागि पुगेका पत्रकारममाथि आक्रमण र हत्यासमेत भएको छ । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नामबाट व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन सुरुदेखि नै हिंसात्मक थियो ।

Advertisement

आन्दोलनको भिडियो खिचिरहेको भवनमै प्रदर्शनकारीले आगो लगाउँदा रिपोर्टिङमा रहेका पत्रकार सुरेश रजकले ज्यान गुमाए । प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको पनि ज्यान गयो । झडपमा ३५ जना प्रदर्शनकारी घाइते छन् । तोडफोड र आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले एक सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । राप्रपासहित संगठित शक्तिबाट भएको आन्दोलनको यो विद्रूत दृश्यले राजधानीसहित देशैभर चिन्ताको बादल मडारिएको थियो ।

आन्दोलनकारीले अन्तर्राष्ट्रिय विमानस्थलवरिपरि आगो लगाउनेदेखि राजनीतिक दलका कार्यालयमा आक्रमण प्रयाससम्म गरे । यस्तो हर्कत राजनीति हुनै सक्दैन, यो हिसांत्मक र आततायी आन्दोलनका नेतृत्वकर्तालाई दण्ड दिनु जरुरी छ ।
आन्दोलन आफ्नो पकड नरहेपछि यसका नेतृत्वकर्ता यसको परिणामबाट पन्छिन खोजेका छन् । जुन अराजनीतिक र गैरजिम्मेवार कदम हो । आन्दोलनकारीले आगो निभाउन गएको दमकलसमेत तोडफोड गरे । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसम्म पुगेर तोडफोड र आगजनी गरे ।

पार्किङमा रहेका गाडी पनि जलाए । स्थितिलाई नियन्त्रणमा लिन सरकारले कर्फयू आदेश नै जारी गर्नुपर्ने अवस्था आयो । आन्दोलनको कमान्ड लिएका व्यवसायी दुर्गा प्रसाई आफैंले जबजस्र्ती निषेधित क्षेत्र तोेकेका थिए । प्रसाईसहित राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनकारीलाई भड्काएका श्रव्यदृश्यहरु सार्वजनिक भएका छन् । अराजक आन्दोलनकारीले दिन ढल्किँदै जाँदा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका थिए भने एमाले र माओवादी केन्द्रका कार्यालयमा पछि तोडफोड गर्न खोजेका थिए । कर्फयूपछि नेपाली सेनालाई नै सडकमा परिचालित गर्नुपरेको थियो ।


एकाएक तोडफोड, आगजनी र लुटपाट गरी राजनीतमा हाहाकार मच्याउने राजावादीको आन्दोलनका क्रममा १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड भएको छ । आन्दोलकारीले अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड गरेका छन् । प्रहरीको हतियार खोसेका आन्दोलनकारीको फोटो खिच्ने क्रममा पत्रकारको खुट्टा आन्दोलनकारीले भाचिदिएका छन् ।

Advertisement

राजातन्त्रको पुनस्र्थापनाको नारा दिएको आन्दोलनको यो दृश्यले फेरि जनतालाई झस्काएको छ । ज्ञानेन्द्र शाहको इच्छाबमोजिम आन्दोलनको नेतृत्व पाएका प्रसाई भने भूमिगत छन् । ठूलो हिंसा, अराजकता, तोडफोड भएपछि त्यसो क्षमायाचना र जिम्मेवारी लिनुको साटो सम्पर्कविहीन हुनुले उनी गैरजिम्मेवार र अराजनीतिक भएको पुष्टि गर्छ । यस्तो अमानवीय हर्कत गर्नेहरुलाई कानुनबमोजिम सजायको भागिदार बनाउनैपर्छ । नत्र, भविष्यमा यस्तै अराजक समूहलाई उदण्ड हर्कत गर्त प्रश्रय मिल्छ ।

तपाईको प्रतिक्रिया