बजेट सकियो, काम निरन्तर

सुन्दरकुमार थकाली २०८१ चैत १८ गते ११:१८

जोमसोम ।
चालु वर्ष २०८१/०८२ का लागि विनियोजित बजेट खर्च सकिँदासमेत मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गतका ८ गाउँ जोड्ने सडकको काम जारी छ । यो ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’को काम निरन्तर छ ।

Advertisement


सडकको ठेक्का लिएको निर्माण कम्पनीले बजेट नहुँदासमेत थासाङ सडक निर्माण कार्यलाई निरन्तरता दिएको सडक डिभिजन कार्यालय बागलुङले उल्लेख गरेको छ । २०७७ पुस ७ गते ठेक्का सम्झौता भएको थासाङ गाउँपालिका अन्तर्गत आझेलमा परेका ८ गाउँ जोड्ने रणनीतिक महत्वको सडक स्तरोन्नतिको जिम्मा महालक्ष्मी हिमाली जेभी कन्ट्रक्सन बालाजु काठमाडौं लिएको थियो ।


सम्झौता अवधि ३ वर्ष तोकिएको आठ गाउँ जोड्ने कालोपत्रका लागि ३८ करोड ८८ लाख ६१ हजार लागतमा ठेक्का सम्झौता गरिएको थियो । थासाङको लेते कुञ्जो हुँदै कोखेठाँटी सौरु गाउँसम्मको १० किलोमिटरको रणनीतिक महत्वको सडक निर्माणका लागि सम्बन्धित निर्माण कम्पनीले सडक डिभिजन सडक कार्यालय बागलुङसँग त्यस बेला ठेक्का सम्झौता गरेको थियो ।


यो सडकले मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ गाउँपालिका अन्तर्गतका ५ वटा वडामध्ये ४ वडालाई सडक सञ्जालले जोड्ने डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए । यो सडकको १० किलोमिटर निर्माणाधीन खण्डमा नाली निर्माणबाहेक ८ दशमलव ५ मिटर चौडा फराकिलो सडक निर्माण भइरहेको भण्डारीको भनाइ छ ।


थासाङको एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडकले त्यस क्षेत्रको लेतदेखि छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाँटी, सिर्खुम र सौरु गाउँलाइ जोड्ने गरी सडक निर्माण जारी छ । राष्ट्रिय गौरवको बेनी जोमसोम मुख्य राजमार्ग सडकदेखि कालिगण्डकी नदी पारीका गाउँलाई सडक सञ्जाललाई जोड्ने गरी रणनीतिक महत्वको थासाङ ग्रामीण सडक विस्तार कार्य अघि बढेको थियो ।

Advertisement


डिभिजन सडक कार्यालय बाग्लुङका इन्जिनियर भण्डारीले संघीय सरकार अन्तर्गत कार्यान्वयनमा आएको थासाङ रणनीतिक महत्वको सडकका लागि चालु आर्थिक वर्ष ५ करोड ४० लाख बजेट विनियोजन भएकोमा चालु वर्षको पुस महिना अगावै बजेट निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ । थासाङको उक्त सडकमा निर्माण कम्पनीले गत वर्ष पनि सडक निर्माणको कामलाई निरन्तरता दिएको थियो ।

थासाङको लेतदेखि छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाँटी, सिर्खुम र सौरु गाउँ जोड्ने सडकको काम तीव्र


पोहोर बजेट न्यून हुँदा निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेकाले चालु वर्षको बजेटबाट भुक्तानी गरिएको हो । सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गतका ४ वटै वडा जोड्ने यो सडकको लागि बजेट अभाव भएको जनाएको छ ।


निर्माण कम्पनीले चालु वर्षको पुस महिनादेखि यता काम गरेको भुक्तानी पाउन बाँकी छ । थासाङको उक्त रणनीतिक महत्वको सडकमा वाल निर्माण, नाली निर्माण, सडक सबग्रेड, सडक फिलिङ र सडक चौडा गर्नेदेखि केही स्थानमा आरसिसी सडक निर्माण भएको छ ।

उक्त सडकको कोखेठाँटीदेखि माथि टिटी क्षेत्रमा करिब ५ सय मिटरमा घना जंगल रहेकाले सडक निर्माणमा समस्या परेको छ । एक्याप क्षेत्रमा जथाभावी रुख विरुवा फडानी गर्न नपाइने भएकाले उक्त स्थानमा रुख फडानी गर्न एक्याप, स्थानीय तह, संरक्षण व्यवस्थापन समिति र सराकारवाला बसेर कानुनी जटिलता समाधान गरी सडक निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।


सडक डिभिजन कार्यालय बागलुङले हालसम्म पनि निर्माण कम्पनीले बिना बजेट तदारुकता साथ काम गरेकाले अपेक्षित भौतिक प्रगति भइरहेको जनाएको छ । कार्यालयले थासाङका ८ गाउँका ४ वडा जोड्ने रणनीतिक महत्वको सडकमा ६० प्रतिशत भौतिक र ४५.५९ प्रतिशत वित्तीय प्रगती भएको उल्लेख गरेको छ । कार्यालयले थासाङ गाउँपालिकाको उक्त सडकमा बजेट सकिएकाले थप बजेट माग गरिएको र बजेट सुनिश्चित भएमा तोकिएको सम्झौता अवधि अगावै सडक निर्माणको काम सम्पन्न हुनेमा कुनै दुविधा नरहेको दाबी गरेको छ ।


थासाङ गाउँपालिकाको कालिगण्डकी पारीका ओझेलका ८ गाउँ जोड्ने सडक स्तरोन्नति भएमा त्यस क्षेत्रका स्थानीयलाई राष्ट्रिय राजमार्ग सडकमा आउजाउ गर्न र कृषि उत्पादनको सहज बजारीकरण गर्न सहज हुन्छ । सिर्खुमका स्थानीय नवीन शेरचनले कालिगण्डकी नदीको लेते—धम्पुमा पक्की पुल बनिरहेको र त्यस बेलासम्म सडक कालोपत्र भयो भने निकै राम्रो हुने जनाए ।


शेरचनले भने, ‘निर्माण कम्पनीले मन लगाएर काम गरिरहेको पाएका छौं, बजेट छैन भन्ने सुनेको छु । यो सडकलाई आवश्यक बजेट विनियोजन गरी निर्माणको काम सम्पन्न होस भन्ने नै हो ।’ उनले थासाङको उक्त क्षेत्र कृषि उत्पादन अन्तर्गत आलुको प्रसिद्ध हब भएकाले सडक सञ्जालले त्यहाँको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया