पर्यटन व्यवसायी महिला संघ टोली बन्दीपुरमा

समाधान संवाददाता २०८१ चैत १८ गते १९:०७

पोखरा । पोखराको पर्यटन प्रवद्र्धन एवं प्रचार गर्ने उद्देश्यले पर्यटन व्यवसायी महिला संघ (टेवान) पोखराले तनहुँको बन्दीपुरमा ‘गन्तव्य प्रवद्र्धन एवं परिचयात्मक’ कार्यक्रम गरेको छ । सोमबार पोखराबाट गएको टोलीले बन्दीपुरमा स्थानीय सरकार र पर्यटनसँग सम्वद्ध विभिन्न संघ, संस्थासँग प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले टोलीलाई स्वागत गर्दै बन्दीपुरमा रहेका धार्मिक एवं पर्यटकीय स्थले भ्रमण गर्न आग्रह गरिन् । उनले पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई सहरका व्यवसायी हातेमालो गरी अघि बढ्नुपर्ने बताइन् । बन्दीपुर भ्रमण वर्ष २०२५ बारे जानकारी दिँदै उनले स्थानीय सरकार र निजी क्षेत्र मिलेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको सुनाइन् ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले २० औ वर्षअघि गरिएको परिकल्पनालाई महसुस गरी गाउपालिकाले भ्रमण वर्ष २०२५ घोषणा गरेको जनाए । रित्तिएको बन्दीपुरलाई पर्यटकीय बन्दीपुर बनाउन अग्रजहरुले गरेको योगदानबारे उनले चर्चा गरे ।

टेवान अध्यक्ष कमला गिरीले संघले पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने क्रममा यो पटक बन्दीपुरलाई रोजेको बताइन् । पोखरा प्रकृतिले सजिएको तालै तालको सहर भए जस्तै बन्दीपुरको पनि छुट्टै महत्व रहेको उनको भनाइ छ ।
उद्योग तथा व्यवसायी महासघं गण्डकी अध्यक्ष बबरजङ गुरुङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । बन्दीपुर भ्रमण वर्ष २०२५ का सहसंयोजक लिकबहादुर बानियाँ, सचिवालय सचिव विक्रम पिया, होमस्टे महासंघ बन्दीपुर अध्यक्ष गीता लम्साल लगायतले पाहाडकी रानी बन्दीपुर प्रचारप्रसारको अभावमा ओझेलमा परेको जनाइन् ।

टेवान सदस्य एवं कार्यक्रम संयोजक शारदा लम्सालले १८ सदस्यीय प्रवद्र्धनात्मक टोलीले पर्यटन प्रवद्र्धनात्मका कार्यक्रम अन्तर्गत २ सहरका पर्यटन व्यवसायीबीच अनुभव आदानप्रदान गर्नुका साथै बन्दीपुरमा रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य भ्रमणगरिएको जनाइन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्धन एवं बन्दीपुर भ्रमण वर्ष २०२५ को सहकार्यमा गरिएको कार्यक्रममा आयोजक टेवानका महासचिव अनिता खड्का भट्टराईले पनि बोलेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया