उपल्लो मुस्ताङमा स्कर्भियो दुर्घटना, तीन जना घाइते

जोमसोम ।
कोरलानाकाबाट लोमान्थाङ फर्किदै गरेको स्कर्भियो जीप आइतबार बिहान उपल्लो मुस्ताङ स्थित कोरला सडकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ । लोमान्थाङ गाउँपालिका—२ न्यानोलमा बीएइ ६५०१ नम्बरको स्कर्भियो जीप सडकमा पल्टिएर दुर्घटना भएको हाे ।
स्कर्भियो जीप अनियन्त्रित भई सडकको बाँयातर्फको भागमा पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए ।
स्कर्भियो दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका र उनीहरुको जोमसोम स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गरे । दुर्घटनामा काठमाडाैं टोखा नगरपालिका—७ बस्ने ११ वर्षीय दिपेन श्रेष्ठ, ६० वर्षीय चुनकुमारी श्रेष्ठ र ६३ वर्षीय धनलक्ष्मी श्रेष्ठ घाइते भएका छन् ।
चालकसहित ९ जना सवारी यात्रुहरु मध्ये बाँकी ६ जना यात्रु सकुशल रहेका छन् । स्कर्भियो दुर्घटनापछि लोमान्थाङ —२ छोसेरमा रहेको ईलाका प्रहरी कार्यालयबाट दुई जना प्रहरी उद्दारमा खटिएका थिए । प्रहरीका अनुसार दुर्घटनाग्रष्त स्कर्भियो जीपमा आशिंक क्षति हुन पुगेको छ ।
तपाईको प्रतिक्रिया