बागलुङ समाज पोखराले रजत जयन्ती मनाउने

समाधान संवाददाता २०८१ चैत २४ गते १६:५२

पोखरा ।
बागलुङ समाज पोखराले स्थापनाको रजत जयन्ती मनाउने भएको छ । २०५७ सालमा स्थापित पोखरामा बसोबास गर्ने बागलुङेहरुको साझा संस्थाका रुपमा रहेको समाजले विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको छ ।

Advertisement


चैत्र ३० गते आयोजना हुने रजत जयन्ती विशेष समारोहमा विविध कार्यक्रम राखिएको अध्यक्ष ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । रजत जयन्तीका अवसरमा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान, भित्तेपात्रो लोकार्पणलगायत विविध सांस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष सापकोटाले बताए ।

रजत जयन्तीका अवसरमा समाजका संस्थापक र पूर्व अध्यक्षहरुलाई सम्मान गरिने समेत समाजका सचिव गंगाबहादुर पुनले जानकारी दिए । यसैबीच, समाजले रजत जयन्तीको तयारी सम्बन्धमा आइतबार तयारी बैठक सम्पन्न गरेको छ । बैठकले हालसम्मको तयारीबारे छलफल गर्दै कार्यक्रमलाई सभ्य र भव्य बनाउन समाजका पूर्व अध्यक्ष र सल्लाहकारहरुको सुझाव समेत लिएको छ ।


बैठकमा समाजका सल्लाहकारद्वय कुलचन्द्र शर्मा र डिल्लीप्रसाद शर्माले समयानुकूल कार्यक्रमको चुस्त व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । बैठकमा पदाधिकारी तथा सदस्यहरुले विभिन्न सुझाव राखेका थिए । समाजले समस्यामा परेकाहरुलाई सहयोग गर्दै विभिन्न विपद्मा उद्दार तथा राहत वितरण, स्वास्थ्य शिविर, रक्तदान, सम्मानलगायतका रचनात्मक कार्यक्रम गर्दै आएको छ । साथै, बैठकले रजत जयन्ती समारोहलाई सफल बनाउन सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि अपिल समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया