‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’     

समाधान संवाददाता २०८१ चैत २५ गते ६:२०

लेखनाथ (कास्की) । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।    
    
 पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उहाँले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावना बढेको बताउनुभयो ।    
    
 पहिलो अन्तरराष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उहाँले सिचुवान एयरलायन्सको धेरै देशमा रहेको सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।    
    
 चीनको माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएमा त्यसले यहाँको अर्थतन्त्रलाई थप महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।    
    
 नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानमा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दुु र छोङछिङमा गरिएका ‘बिटुबी’ तथा ‘सेल्स मिसन’ले यहाँको पर्यटनमा योगदान पु-याएको बताउनुभयो ।    
    
 पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा चीनको सम्बन्धलाई थप उजागर गरेको बताउनुभयो ।    
    
 परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत अनुकरणीय रहेको धारणा राख्नुभयो । रासस 

Advertisement

तपाईको प्रतिक्रिया