सम्पादकीय—प्रदूषण घटाउने उपाय खोज

समाधान संवाददाता २०८१ चैत २५ गते १०:२४

अहिले वायु प्रदूषण देशैभर देखिएको छ । जैविक इन्धनबाट चल्ने सवारीसाधनको वृद्धिका साथै औद्योगिक कलकारखानामा खनिजजन्य इन्धनको प्रयोगले वायु मण्डलमा कार्बडाइअक्साइड लगायतका वायुमण्डल प्रदूषित गर्ने ग्यासको प्रयोग बढ्दै गएको छ । हिउँदका याममा पराल खेतमै जलाउने भारतीय किसानकर्मले धुँवा वायुमण्डलमा बढी पुग्न थालेको छ । चिसो मौसम बढेपछि सूर्यको ताप कम हुन गई त्यस्तो प्रदूषण जमिन नजिकै रहने हुँदा वायु प्रदूषण अझ बढी देखिन थालेको थियो ।

Advertisement

अहिले राजधानी काठमाडौंं, पोखरा लगायतका सहर र देशैभर यो समस्या देखिएको छ । यस्तो वायु प्रदूषण हटाउन हिउँदे वर्षा आवश्यक भए पनि अहिले त्यसको संकेतसम्म देखिएको छैन । वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा विविध खाले स्वास्थ्य समस्या देखापर्ने स्थिति भएकाले यस सम्बन्धमा सबैको सतर्कता तथा सावधानी जरुरी छ । वायु प्रदूषणको समस्या दक्षिण एसियासँगै विश्वव्यापी रूपमा नै निकै जटिल हुँदै गएको छ । बढ्दो सहरीकरणले सहरी जनजीवनमा वायु प्रदूषण झनै जटिल बनेको हो ।


अहिलेको वायु प्रदूषणको असरबाट जोगिन वैकल्पिक उपायको खोजी गर्नुपर्ने देखिन्छ । चिकित्सकहरूले बिहान हिड्डुल नगर्न, बालबालिका, बिरामी र वृद्धवृद्धालाई घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन् । पछिल्ला दिनमा प्रदूषणको कहर असाधारण रूपमा बढेको छ । काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्ने अवस्था आएको छ । एकाध दिनमात्र होइन, वर्षभर हुने सरदर प्रदूषणका हिसाबले पनि राजधानी काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ ।

राजधानीमात्र होइन, समग्र नेपाल वायु प्रदूषणका हिसाबले विश्वमा अग्रसूचीमा रहन थालेको छ । वायु प्रदूषणले जनजीवन प्रभावित बनेपछिमात्र नेपालमा यसबारे चर्चा हुने गरेको छ । गत वर्ष पनि यस खालको मौसम देखिएको थियो । हवाइ उडान प्रभावित हुनेदेखि प्रदूषणका कारण मौसम धुम्मिने, स्वास्थ्यमा नकारात्मक असर पर्ने अवस्था थियो । यसपालि पनि यही क्रम दोहोरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन कठिनाइ भएको छ ।


यस खालको प्रदूषणका अनेक असर छन् । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष र परोक्ष असर पुर्‍याउँछ । प्रदूषणले आक्रान्त भएपछि उसको न्यूनीकरण उपायहरुबारे चर्चा हुन्छ । प्रदूषण कम हुँदै गएपछि बिर्सने बानी हाम्रो छँदै छ । देशका विभिन्न ठाउँमा हुने आगलागीलाई रोक्नतिर हामी लागेका छैनौं । प्रदूषण बढाउने खालका गतिविधि जस्तो पुराना र थोत्रा गाडीहरु चलाउने, जथाभावी फोहोर, प्लास्टिकहरु जलाउने क्रम घटेको होइन बढेको छ ।

Advertisement

अझै पनि झन्डै आधा नेपालीले दाउरामा खाना पकाउने गरेका छन् । त्यसले पनि प्रदूषण बढाएको छ । यस्तो मौसमले पर्यटकलाई समेत निराश बनाएको छ । घुमघाम गर्ने, प्रकृति नियाल्नेहरु निराश बनेका छन् । तत्कालका लागि प्रदूषणबाट जोगिने उपाय सुझाउँदै दीर्घकालका लागि यस खालको प्रदूषण कम गर्न अपनाउनुपर्ने उपायहरुको वैज्ञानिक रुपमा खोजी र कार्यान्वयन जरुरी छ ।

तपाईको प्रतिक्रिया