सम्पादकीय—जनआन्दोलन दिवस र चैत २६को महत्व

२६ चैत २०४६मा नेपालमा प्रजातन्त्रको पुनर्वहाली भयो । नेपालको राजनीतिक इतिहासमा चैत २६लाई पञ्चायती व्यवस्थाको अन्त्य भएको दिनको रुपमा लिइन्छ । जुन दिनलाई जनआन्दोलन दिवसको रुपमा समेत मनाइने प्रचलन थियो ।
नेपालमा प्रजातन्त्र स्थापना भएको दिन अर्थात २०४६ साल फागुन ७ गतेदेखि सुरु भएको जनआन्दोलनले नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भयो । जनताको आन्दोलनले तत्कालिन राजा वीरेन्द्रलाई चैत २६ गते संविधानबाट ‘दलविहीन’शब्द हटाउन तथा दल माथिको प्रतिबन्ध हटाउन बाध्य पार्यो । उनले नेपालमा बहुदलीय व्यवस्थाको पुनस्थापना भएको घोषणा गरे । यसरी तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य भयो । कालान्तरमा नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापपना भयो ।
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र बिद्रोह, राजनीतिक स्थायित्व र स्थिर सरकार नभएको अवस्थामा १८ असोज २०५९मा तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई अपदस्थ गरे । २४ चैत २०६२मा सुरु भएको दोश्रो जनआन्दोन १९ दिन पछि ११ वैशाख २०६३मा संसदको पुनस्थापनमा टुंगियो । २०६२÷०६३ सालको आन्दोलनपछि शान्ति सम्झौता र गणतन्त्रको स्थापना भयो । शक्तिशाली आन्दोलनले २ सय ३७ वर्ष पुरानो राजतन्त्रलाई ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो ।
दोस्रो जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएसँगै वैशाख ११ लाई लोकतन्त्र दिवस र जेठ १५लाई गणतन्त्र दिवसका रुपमा मनाउने प्रचलनसँगै जनआन्दोलन दिवस ओझेलमा परेको छ । चैत २६ नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिन हो । अहिंसात्मक आन्दोलनका रुपमा नेपालको इतिहासमा स्थापित भएको दिन हो । पञ्चायती व्यवस्थाको अन्त्य वास्तवमा आजको गणतन्त्र स्थापनाको विजारोपण पनि हो । २०६२–६३ को आन्दोलनमा लाखौं जनता सडकमा आएर तत्कालिन राजा ज्ञानेन्द्रलाई घुँडा टेकाए, देशमा गणतन्त्रको स्थापना भयो । गणतन्त्र ल्याउने वाचा गरेका दलहरूलाई संविधान सभामा ९५ प्रतिशत भन्दा बढी मत दिएर राजदरबारबाट ज्ञानेन्द्रको बहिर्गमन सुनिश्चित पारे ।
जनआन्दोलनको मर्म र भावना अनुसार काम हुन सकेको छैन । नेपालमा गणतन्त्र आएको १९ वर्ष बितिसक्दा पनि आम नेपालीको जीवनमा केही पनि परिवर्तन आएको छैन । सुशासनको अभाव बढ्दो मंहगीले जनता दैनिकी गुजार्न पनि मुस्किल भइरहेको छ । राजनीतिक परिवर्तनसँगै आर्थिक समाजिक र सांस्कृतिक रुपान्तरण हुन सकेको छैन । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नेपाली जनताको उपलब्धि हो ।
यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको संघर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण सरकारका सबै प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । आर्थिक समृद्धि र दिगो विकासको बाटोमा मुलुक अगाडि बढ्न नसकेकोले जनतामा निराशा बढेको छ । त्यसैले राजनीतिक दल तथा सरकारले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि मुलुकलाई विकास र सुशासनको गतिमा लैजानु आजको आवश्यकता हो ।
तपाईको प्रतिक्रिया