७५ वर्ष अगाडि भएको त्यो भयावह आगलागी, जसले पोखराको परिवर्तनको सुरुवात गरायो


पोखरा ।
पोखराको प्राकृतिक सुन्दरताले जो कोहीलाई पनि लोभ्याउने गर्दछ , चाहे ती व्यक्ति स्वदेशी हुन या विदेशी । पोखराको उत्तरमा लहरै देखिने हिमश्रृंखला, हिमालको कदलाई पछ्याउदै गरेका हरियाली पहाडहरु र तिनै पहाडको काखमा कैद भएको यो सुन्दर पोखरा, दिनभरी हेरिरहेपनि मन अघाउँदैन । तर के हामी कल्पना गर्नसक्छौं, प्रकृतिप्रदत्त यो सुन्दर शहर ईतिहासको कुनै कालखण्डमा खण्डहर हुनेगरी भूकम्प तथा आगलागीबाट प्रताडित भएको थियो < आज पोखराको त्यही कहाली लाग्दो ईतिहासको चर्चा गर्न गईरहेको छु ।
ईतिहासमा उल्लेख भए अनुसार पोखरा उपत्यकामा आजभन्दा करिव दश हजार वर्ष अगाडि भयावह वाढी आएको थियो । उक्त बाढीले पोखरा क्षेत्र पूरै डुबानमा परी ठूलो तालमा परिणत भएको थियो । कालान्तरमा उक्त ताल सुकेर गेग्य्रान र जङ्गलमा परिणत भएको थियो । त्यसपछि विसं. १३१२ को असारमा आएको ठूलो भूकम्पले अन्नपूर्ण चौथो हिमालको टुप्पाको करिव ५०० मीटर चोइटिएर खस्दा हिमनदीको निकास रोकिन गइ, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल बिचमा रहेको बिशाल साब्चे उपत्यकामा विशाल हिमताल बनेको थियो । करिव २३ वर्ग किलोमिटर क्षेत्रमा बनेको विशाल हिमताल केही समय पछि विस्फोट भएर आएको बाढीले बगाएर ल्याएको हिलो, गेगर र ढुङ्गाहरुले पोखरा उपत्यकाको अधिकांश भूभाग पुरिएको थियो भने पोखरा पूरै डुबानमा परेर विशाल तालमा परिवर्तन हुन पुगेको थियो ।
यसरी बाढी र शक्तिशाली भूकम्पले आफ्नो आकृति नै गुमाएको पोखरामा विस्तारै मानिसहरुको बसोबास बढ्न थाल्यो । खासगरी पश्चिम नेपालबाट आएका ब्राम्हणहरु यहाँ बसोबास गर्न थालेका थिए । तथापि, पोखराको धार्मिक, सांस्कृतिक एवं व्यपारिक विकास भने पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यकामा हमला गर्दा शाह राजाबाट आफ्नो धर्म र संस्कृतिको रक्षा हुन नसक्ने तथा अन्य दुख समेत दिने डर त्रासमा आफ्नो थातथलो छोडेर पोखरामा आई बसोबास गर्न थालेका नेवारहरुबाट भएको पाईन्छ ।
ईतिहासको हरेक कालखण्डमा विभिन्न दैवी प्रकोपको सामना गरेको पोखरामा बि.सं. १९९८ सालको फागुन ३० गते पनि भयावह आगलागी भएको थियो । सो बेला १५ घर जलेर सखाप भएको थियो । ती पीडित मध्य तीन घर अति नै गरिव भएको हुँदा तत्कालीन बडाहाकिम धनशम्शेरको नेतृत्वमा नेपाल सरकारले खाना खर्च रू २० तथा घर बनाउन रु ५० गरी रू ७० का दरले तीन घरलाई सहयोग गरेको थियो ।
यस घटनाको ८ वर्ष पछि नै २००६ सालमा पोखरेलीहरुले लामो समयसम्म खडेरीको सामना गर्नुपर्यो । खडेरीका कारण पोखरेली बासिन्दा आकुलब्याकुल भए भने खेतीबाली समेत लगाउन पाएनन् । मानिससँग ईष्टदेवता रिसाए भने विपत्ति आईपर्छ भन्ने जनविश्वास बोकेका जनताहरु कास्कीका तत्कालीन बडाहाकिम धनशम्शेरलाई खडेरीबाट मोक्ष पाउने उपाय खोज्न विन्ती गरे । त्यसपछि बडाहाकिम धनशम्शेरले पण्डितहरुसँग परामर्श लिंदा बैशाख कृष्ण नवमी तिथीको दिन रुद्री पूजा गरेमा खडेरीबाट मुक्ति पाईने उपाय बताए । यता चैत्र शुक्ल पूर्णिमामा गरिने देवीको गुठी पूजा चन्द्रग्रहण परेका कारण स्थगित हुने भएपछि पण्डितहरुले दुबै पूजा एकै दिन गर्ने सल्लाह दिए । यसरी पण्डितहरुको परामर्श अनुसार तान्त्रिक विद्या समेत जानेका बडाहाकिम धनशम्शेरले बिन्द्यवासिनी मन्दिरमा रुद्री पूजा लगाउने तैयारी गरे । यता तान्त्रिक विधि अनुसार उक्त पूजामा मांसाहुती यज्ञ समेत सम्पन्न गर्नुपर्ने सुझाव आएपछि पण्डितहरुको परामर्श अनुसार धनशम्शेरले तान्त्रिक बिधिबाट लावामा मासुका टुक्रा मिसाएर आहुती दिईने मांसाहुती यज्ञ गर्न समेत अनुमति दिए ।
यता धुमधामसँग पूजा चलिरहेको थियो, त्यतिनै बेला संयोग हो या ईष्टदेवताको शक्तिले हो अचानक हावाहुरी चल्न थाल्यो । पूजामा रमाईरहेका भक्तजनहरु कसैले पनि यज्ञमा बलीरहेको आगोतर्फ ध्यान दिएनन् । एकैछिनमा हावाहुरीले पोखरा बजारका अधिकांश घरका छानाहरु उडाउन थाल्यो भने कतिपय रुखका हाँगाहरु भाच्चिएर खस्न थाले । यज्ञ कुण्ड नजिकैको आँपको रुखको एउटा ठूलो हाँगो भाँच्चिएर यज्ञको कुण्डमाथि नै खस्यो । खडेरीले सुकेको हाँगो अग्नी कुण्डमा पर्ने वित्तिकै सल्कन थाल्यो र यज्ञ कुण्डको आगो दन्दनी दन्कन थाल्यो । हावाहुरीका कारण आगो अनियन्त्रित भई मन्दिर नजिकै रहेको आयुर्वेद औषधालयको खरको छानो सल्कन पुग्यो । हेर्दाहेर्दै वल्लो घर, पल्लो घर गर्दै आगोले बजारका सबै घरहरु खरानीमा परिणत हुन थाल्यो ।

पोखरामा त्यतिबेला पानीको राम्रो सुविधा थिएन । स्थानीय बासीले बजारका केही कलधारा र पोखरीको पानीले आगो निभाउने प्रयास गरे तर उनीहरुको जोर चलेन । क्षणभरमै बिन्ध्यवासिनी, मोहरिया टोल, अधिकारीटोल, लामाचौतारा, भिमसेन टोल, नालामुख, तेर्सापट्टी, गणेश टोल, रामकृष्ण टोल र गैह्रापाटनका अधिकांश घरहरु जलेर ध्वस्त भए । एकैक्षणमा पोखरा बजार सिङ्गो अग्निकुण्डमा परिणत भयो र जलेर खण्डहर बन्न पुग्यो ।
आगलागी पश्चात धनशम्शेरले ब्राम्हणहरुलाई बोलाइ मांसाहुती यज्ञको अनुष्ठानमा त्रुटि भएकाले उक्त दुर्घटना निम्तिएको आरोप लगाए । उता ब्राम्हणहरुले पनि धनशम्शेरले यज्ञमा मांसाहुती दिएका कारण अनिष्ठ भई आगलागी हुन पुगेको प्रचार गरे । आगलागी हुनुका पछाडि कुनै दैवीशक्तिको हात थियो या थिएन त्यो त जनविस्वासको कुरा हो, तर उक्त आगलागीबाट पोखरेलीवासीको अत्यधिक भौतिक क्षति भएको थियो । त्यतिबेलाका घरहरुमा प्राय खरको छानो हुने र घर निर्माणमा अत्यधिक मात्रामा काठको प्रयोग हुने भएकाले पनि उक्त आगलागीले भयावह रुप लिएको थियो । आगलागीले कतिपय मानिसको शरीरमा लगाएको एकसरो कपडाबाहेक केही जोगिएन । अन्नपात, लुगाफाटा, भाँडाकुँडा, गरगहना, पैसा सबै जलेर नष्ट भए भने मानिसहरुले खुल्ला आकाशमुनि रात काट्न बाध्य भए ।
उतिबेला प्रकाशित गोरखापत्रको समाचार अनुसार उक्त आगलागीमा परी ९ जना पोखरेलीले ज्यान गुमाएका थिए भने ४७५ घर जलेर नष्ट भएका थिए । यसैगरी आगलागीमा परी कैयौं ब्यक्तिहरु घाईते भएका थिए भने सयौं घरपालुवा जनावरहरु मर्नुका साथै घाइते भएका थिए ।
आगलागीबाट पीडित ब्यक्तिहरुको जीवनरक्षाका लागि बडाहाकिम धनशम्शेरले तत्कालै राहत स्वरुप तत्कालै मो.रु.१०,२७२ पीडितहरुलाई बाँडेका थिए भने महाराजा श्री ३ मोहन शम्शेरलाई पीडित परिवारहरुलाई गाँसबाँसको ब्यवस्था मिलाई दिनका लागि अनुरोध गर्दै बिन्तीपत्र पनि चढाएका थिए ।
श्री ३ मोहनशमशेरले २००७ साल भदौ ३० गते शुक्रवार दिउसो ४ बजे प्रसारण भएको सो सन्देश सबैले सुन्न मिल्ने ब्यबस्था मिलाइएको थियो । जस अनुसार बडाहाकिम धनशम्शेर, सरकारी कर्मचारीहरु र जनताहरु गरेर करिव २५०० जति जम्मा भएको भन्ने उल्लेख गरिएको देखिन्छ । सो भाषणमा श्री ३ मोहन शमशेरले घर जलेर गासबास गुमाएकाहरुलाई निर्ब्याजी सहयोग गर्ने घोषणा गरिएको थियो । यस्तो सुखद समाचार सुनेपछि पोखरेलीहरु खुशी भएका थिए ।
यसरी श्री ३ को भाषण अनुसार पछि आगलागि पिडितहरुमा २१९ परिवारले निर्ब्याजी ऋण पाउने भएका थिए । जसमध्य २२ परिवारमा अलग्गै चुलो बालेर बसेका तर एकाघरमा छुट्टीभिन्न भएकाहरु थिए । यसरी सहयोग गरिँदा जम्मा रू २,५४,४८३ नेपाल सरकारो खर्च भएको थियो ।
आगलागी पिडितहरुले बिन्द्यवासिनी मन्दिरमा पूजा गर्ने पण्डितहरुको घर लुट्ने योजना समेत बनाएका थिए । कतिपयले धनशम्शेरलाई नै दोषी समेत ठानेका थिए । तर पनि सरकारी सहयोग पाउने आश्वासनले अन्य दुखद घटना भएन । तर यसको एक वर्ष नबित्दै नेपालबाट सदाका लागि राणाशासन भने समाप्त भयो ।
यस दुखद घटनाको केवल एक सप्ताह अगाडि चैत २२ गते राती ११ बजे मेरो बुबा, आमा र साना साना दुइ दिदीहरु पोखरा पुग्नुभएको थियो । पोखरामा अंग्रेजी माध्यमबाट पढाउनका लागि पोखरा पब्लिक स्कुलको स्थापना भएको हुँदा सो स्कुलमा पढाउनका लागि पोखरामा बुबालाई बडाहाकिम धनशम्शेरले भारी बोक्नका लागि आठपहरियाहरु पठाएर बोलाउनु भएको थियो । यसरी पोखरा पुग्नुभएको बुबा आमा राम्रोसंग बस्ने ब्यबस्था पनि मिलाउन नपाउँदै अचानक आएको बिपत्तिले गर्दा लगाएको एकसरो कपडा र केही कितावको बाकस बाहेक भक्तपुरबाट ल्याउनुभएको सबै सामान जलेर गुमाउनु भयो ।
यस दुखद घटनाको अर्को सुखद पक्ष भनेको सरकारी निर्ब्याजी सहयोग पाउने भए पछि पोखराका अधिकांश घरमा जस्तापाताको छानो छाउन थालियो । पक्की घरको संरचनाहरु बने । एक प्रकारले पोखरामा विकासको लहर सुरु भयो ।
तपाईको प्रतिक्रिया