‘आत्महत्या रोकथाम सामूहिक दायित्व’

पोखरा ।
गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोसिस’ संस्थाको सहकार्यमा आत्महत्या रोकथामसम्बन्धी प्रदेशस्तरीय छलफलमा बउनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे ।
‘आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारीमात्र होइन । सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं’, उनले भने । मन्त्री थापाले आत्महत्या बढ्नुका प्रमुख कारणमा असुरक्षित वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक कठिनाइ, मानसिक स्वास्थ्य समस्या जस्ता विषय भएको औंल्याए । यस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने उनको भनाइ छ ।
विद्यालयमा मनोसामाजिक परामर्शदाताको व्यवस्था, युवालाई सीप विकास तालिममार्फत रोजगारीको अवसर, सचेतनामूलक कार्यक्रमको विस्तार तथा मानसिक स्वास्थ्यको संरक्षण जस्ता गण्डकी प्रदेश सरकारको पहलहरूलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरिहार्य रहेको उनले बताए । ‘सबल प्रदेश, स्वस्थ नागरिक र समावेशी समाज निर्माण हाम्रो लक्ष्य हो ’, उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले गण्डकी प्रदेशमा आत्महत्याको अवस्थाबारे चर्चा गरेका थिए । गण्डकी प्रदेशको सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव मुना अधिकारीले आत्महत्या रोकथामसम्बन्धी नीति, कार्यक्रम र यसको स्थितिबारे जानकारी गराइन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायबीच भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्नेसम्बन्धी छलफलसमेत भएको छ ।
तपाईको प्रतिक्रिया