पोखरामा नव वर्ष महोत्सव सुरु

समाधान संवाददाता २०८१ चैत ३० गते ९:५०

पोखरा । पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सव उद्घाटन गरे ।

Advertisement

होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितको विशाल झाँकी, ¥याली सभास्थलमा पुगेको थियो । पञ्चेबाजा, भजन, रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यस पटक भक्तपुरको बिस्केट जात्रा विशेष आकर्षण छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण हुन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए । महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनको भनाइ छ ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए ।

Advertisement

होटल संघ नेपाल अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्रान्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि सञ्चालन गर्न सकिने सुझाए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला सञ्जाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि बोलेका थिए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण छन् । संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता यस पटकको नयाँ इभेन्ट हो । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । स्थानीय एवं प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् ।

तपाईको प्रतिक्रिया