नयाँ वर्षले दौडन होइन, बाँच्न सिकाओस्

प्रमिला कुँवर २०८१ चैत ३० गते ०:००

घडीको सुई सर्छ, समय अघि बढ्छ, नयाँ वर्ष आउँछ, क्यालेन्डर फेरिन्छ । हरेक वर्षको अन्त्यमा हामी पुराना याद बोकेर नयाँ वर्षको स्वागत गर्छाैं । अधुरा सपना, बाँकी वाचा, केही थाँती योजना र नयाँ वर्षले परिवर्तन ल्याउँनेछ भन्ने इच्छा ।

Advertisement


वैशाख १ आउँछ, यसले परिवर्तन ल्याउनेछ भन्ने मनमा गहिरो आसा पलाउँछ । नयाँ वर्ष सुरु भएपछि मनमा स्वतः योजना बन्न थाल्छन् । यो गर्नेछु, त्यो सुधार्नेछु, जीवनलाई नयाँ मोड दिनेछु भनेर । डायरीका पानामा संकल्प लेखिन्छन् । समयको सदुपयोग गर्ने, आफूलाई अझ राम्रो बनाउने ।


तर समय बित्दै जाँदा योजनाहरु कागजमै हराउन थाल्छन् । योजना बनाउनु सजिलो छ, तर त्यसमा टिकिरहन आत्मानुशासन चाहिन्छ । हाम्रो जीवन कति नयाँ हुन्छ भन्ने आफैँमाथि भर पर्छ । पुराना बानी, सोचलाई बिर्सिएर केही गर्ने आँट गरेमात्र नयाँ वर्षले अर्थ राख्छ नत्र मितिको फेरबदल मात्र हो । व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र योजना सफल हुन्छ ।


नयाँ वर्ष आफैंले कुनै चमत्कार ल्याउँदैन । न त घडीको सुई अघि सरेको भरमा जिन्दगी पल्टिन्छ, न त क्यालेन्डरको नयाँ पानाले हिजोको पीडा पखाल्छ । तर पनि, नयाँ वर्षको आगमनले मनभित्र केही हल्लाउँछ—एक प्रकारको आशा, संकल्प र नयाँ सुरुआतको भावना । यो त्यो क्षण हो, जहाँ हामी भोलिप्रति विश्वास गर्न थाल्छौं, आफूलाई फेरि एकचोटि नयाँ रूपमा गढ्न आँट गर्छौं ।


चमत्कार केही छ भने, त्यो हाम्रो सोचमा लुकेको हुन्छ—हामीले फेरि एकपटक उठ्ने, बदलिने र अगाडि बढ्ने हिम्मत गर्न थालेको त्यो सानो निर्णय नै साँचो चमत्कार हो । त्यसैले, नयाँ वर्षको चमत्कार घडीमा होइन—हामीभित्रको आँट, आशा र परिवर्तनको चाहनामा लुकेको हुन्छ ।

Advertisement


नयाँ वर्ष कहिले हो त ? समय निरन्तर बगिरहेछ । पृथ्वीले सूर्यको परिक्रममा गरिरहेकै छ । पृथ्वीले सूर्यको परिक्रममा गर्न ३६५ दिन लगाउँछ भन्ने कुरा विज्ञानले प्रमाणित गरेको छ तर कुन दिनलाई नयाँ वर्ष मान्ने ? नेपालमा वैशाख १ गते, ग्रेगरिएन पात्रो अनुसार जनवरी १, तिब्बतीमा अर्कै, चीनमा फरक दिन त्यस्तै इस्लामिक, यहुदी र अन्य पात्रोमा फरक दिन नयाँ वर्ष पर्छ । हाम्रै नेपालमा विक्रम संवतभन्दा अघि शक संवत र नेपाल संवत पनि चलनमा थिए, तिनका पात्रोअनुसारका नयाँ वर्ष पनि फरक फरक थिए । नयाँ वर्षको मिति मनोवैज्ञानिक र सांस्कृतिक मान्यता हो ।

वर्षको परिवर्तनले जीवन आफैँ परिवर्तन हुँदैन । यसले परिवर्तन हुने मौका दिन्छ


साँच्चीकै परिवर्तन हुन त जुन दिन पनि सकिन्छ नयाँ वर्ष नै पर्खिनु पर्दैन । जसरी बिहानको सुरुआत हुन्छ, एउटा नयाँ सुरु हुन्छ । वर्षको परिवर्तनले जीवन आफैँ परिवर्तन हुँदैन । यसले परिवर्तन हुने मौका दिन्छ । आफूलाई नयाँ रुपमा हेर्ने आँखीझ्याल हो । नयाँ वर्ष मनोवैज्ञानिक सोच मात्र हो, तर यही सोच परिवर्तनको जग बन्न सक्छ ।


नयाँ वर्षमा आफूलाई कस्तो देख्न चाहन्छु भनेर परिवर्तनका लागि तयार हुनुपर्छ । सकारात्मक सोच, संकल्प, आत्मस्वीकृति जसले परिवर्तन ल्याउने शक्ति राख्छन् । नयाँ वर्षले यसलाई उजागर गर्ने प्रेरणा भने दिन्छ ।


नयाँ वर्ष त बालापनमा आउँथ्यो, वार्षिक परीक्षा पछिको विश्राम, पास भएको हर्ष, नयाँ कक्षाकोठा, नयाँ किताबको गन्ध, नयाँ उमंगले रंगिएको हुन्थ्यो । साथीहरु मिलेर पिकनिक जाने योजना बुनिन्थ्यो । कहाँ जाने, के लैजाने त्यो उत्साह । उत्सव जस्तै लाग्ने त्यो एक दिन अहिले जीवन्त सम्झना बनेको छ । वनमा पलाएका नयाँ हरिया, राता पालुवाले नयाँ वर्ष आएको आभाष हुन्थ्यो । सफा नीलो आकास, कोइलीको कुहुकुहु आवाजमा बाल मन फुरुंग पथ्र्यो ।


आजको नयाँ वर्षले जिम्मेवारीको भारी थमाएको छ । अफिस जानुपर्ने, लक्ष्य भेट्टाउनुपर्ने, समयसँग दौडिनुपर्ने । समयको पछि एकोहोरो दौडिन भनिरहेको छ । गत वर्षभन्दा यस वर्ष जसरी पनि राम्रो गर्नुपर्छ भन्ने बाध्यता थोपरेको छ । नयाँ वर्ष आएको मोबाइलको नोटिफिकेसनमा आउँछ, तर मनमा खुसी आउँदैन । नयाँ वर्षले उमंग होइन, योजना सम्झाउँछ जसले समयसँगै हामीलाई पनि थकित बनाइरहेको छ ।


हामी नयाँ सुरुवात गर्न सक्छौं, नयाँ वर्षको साँच्चिकै अर्थ खोज्ने प्रयासबाट । जहाँ एकछिन शान्त बसेर आफैँलाई सोधौं ‘मैले साँच्चै के चाहन्छु ?’ अरुको लागि होइन आफूलाई खुसी राख्ने संकल्पबाट । अबको नयाँ वर्षले दौडन होइन, बाँच्न सिकाओस् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया