स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु

समाधान संवाददाता २०८१ चैत ३० गते १८:१३

पोखरा । जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ । ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मूल नारासहित हरेक वर्षको चैत्र पूर्णिमादेखि पञ्चमी (वैशाख ५ गते)सम्म हुँदै आएको ऐतिहासिक मेला शनिबारदेखि सुरु भएको हो ।
उक्त मेलाको उद्घाटन बबता सेन ठकुरीले गरे । सो अवसरमा बोल्दै समाजसेवी ठकुरीले ग्रामीण तथा खेल पर्यटनको विकास गर्न उक्त मेलाले सघाउ पुर्‍याउने धारणा राखे । उनले काल्खु गाउँ तथा आसपासको विकासका लागि ऐतिहासिक मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Advertisement

मेलाको उदघाटनका क्रममा स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमार्फत विजेता र उपविजेता घोषणा गरिएको क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए ।

उनका अनुसार ६ समूहको सहभागिता रहेको सो प्रतियोगिताबाट जागृति टोल विकास संस्था प्रथम बन्दै नगद १० हजारसहित पुरस्कृत बन्यो । जागृति टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो । उपविजेता बनेको जीवन ज्योति टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेको थियो । जीवन ज्योतिले नगद ५ हजार प्राप्त गर्‍यो ।

अब भलिबलका खेलहरू हुने क्लबका अध्यक्ष दीपक रानामगरले बताए । उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रूपमा नगद १२ हजारसहित पुरस्कृत गरिनेछ ।

यसैगरी मेलामा खुला नृत्य प्रतियोगितालाई पनि समावेश गरिएको छ । नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वितीय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई नगद २ हजार रुपैयाँसहित पुरस्कृत गरिने अध्यक्ष रानामगरले जानकारी दिए ।

Advertisement

उनका अनुसार नववर्षको दिन ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरू चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापामगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुति दिनेछन् भने २ गते रेशम थापामगर, अर्चना चापागाईं र हो गुरुङले प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा राप्रपाका केन्द्रीय सदस्य हुकुमसिं राना, लीलबहादुर राना, ईश्वर राना लगायतले बोलेका थिए । क्लबका अध्यक्ष दीपक रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेमबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने खिबबहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया