सौर्यमण्डलभन्दा बाहिर जीवन रहेको ‘सबैभन्दा बलियो प्रमाण’ पत्ता लागेको दाबी

समाधान संवाददाता २०८२ वैशाख ४ गते १२:१९

गार्डियन । लन्डन

Advertisement

पृथ्वीबाट १२४ प्रकाशवर्ष टाढा रहेको एक विशाल ग्रहले पृथ्वीबाहिर जीवन फस्टाइरहेको हुनसक्ने अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण दिएको खगोलशास्त्रीहरूले दाबी गरेका छन्।

‘जेम्स वेब स्पेस टेलिस्कोप’ले केटु-१८ बी नामको ग्रहको अवलोकन गर्दा त्यहाँ दुई यस्ता रासायनिक यौगिकको पहिचान भएको देखिएको छ, जसलाई पृथ्वीमा जीवनद्वारा मात्र उत्पादन हुने ठानिन्छ।

डाइमिथाइल सल्फाइड (डिएमएस) र डाइमिथाइल डिसल्फाइड (डिएमडिएस) नामका ती यौगिकहरूको पत्ता लाग्नुले पृथ्वीबाहिरको जैविक गतिविधिको निश्चित प्रमाण नदिए पनि ‘हामी ब्रह्माण्डमा एक्ला हौं कि होइनौं?’ भन्ने प्रश्नको जवाफ धेरै नजिक ल्याउन सक्छ।

अवलोकन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयका खगोलभौतिकविद् प्रोफेसर निक्कु मधुसूदनले भने, ‘सौरमण्डलबाहिर जैविक गतिविधिको अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण यही हो। हामी निकै सावधानीपूर्वक अघि बढिरहेका छौं। यो संकेत साँच्चै हो त? र यसको अर्थ के हो? भन्ने प्रश्न हामी आफैँलाई पनि सोधिरहेका छौं।’

Advertisement

उनले थपे, ‘केही दशकपछि हामी अहिलेको समयलाई फर्किएर हेर्दा, जीवनयुक्त ब्रह्माण्ड हाम्रो पहुँचमा आएको क्षणको रूपमा यसलाई सम्झिन सक्छौं। यो नै त्यस्तो मोड हुन सक्छ, जहाँबाट हामी ब्रह्माण्डमा एक्ला हौं कि होइनौं भन्ने आधारभूत प्रश्नको जवाफ दिन सक्ने अवस्थामा पुग्न थाल्छौं।’

तर सबै वैज्ञानिक यसबारे यति आशावादी छैनन्। केटु-१८ बी मा जीवनका लागि उपयुक्त वातावरण छ वा छैन भन्नेमा अझै प्रश्नहरू छन्। साथै पृथ्वीमा समुद्री सूक्ष्म वनस्पतिद्वारा उत्पादन हुने डिएमएस र डिएमडिएसलाई जैविक संकेतक (बायोसिग्नेचर) का रूपमा हेर्न मिल्छ कि मिल्दैन भन्ने बहस पनि कायम छ।

सिंह राशिमा पर्ने केटु-१८ बी ग्रह पृथ्वीभन्दा झन्डै नौगुणा ठूलो र २.६ गुणा चौडा छ। यो ग्रह आफ्नो तारा (एक चिसो रातो बौना तारा, जसको आकार सूर्यको आधाभन्दा पनि कम छ) को वासयोग्य क्षेत्रमा परिरहेको छ। सन् २०१९ मा हबल टेलिस्कोपले यसको वायुमण्डलमा पानीको वाष्प भएको संकेत देखाएपछि वैज्ञानिकहरूले यसलाई सौरमण्डलबाहिरको सबैभन्दा वासयोग्य ग्रह घोषणा गरेका थिए।

तर मधुसूदनको टोलीले सन् २०२३ मा गरेको पछिल्लो अवलोकनमा त्यो पानी नभई मिथेन रहेको देखियो। यद्यपि, उनीहरूले केटु-१८ बी एक विशाल र गहिरो महासागरले ढाकिएको वासयोग्य ग्रह हुनसक्ने सम्भावना कायमै रहेको दाबी गरे। त्यसै अवलोकनमा डिएमएसको संकेतसमेत भेटिएको थियो।

हामीले सौरमण्डलबाहिरका ग्रहहरूको तस्बिर खिच्न वा तिनमा यान पठाउन सक्दैनौं। तर वैज्ञानिकहरूले यस्ता ग्रहहरू आफ्ना ताराहरूको अगाडि जाँदा पार हुने प्रकाश विश्लेषण गरेर तिनको आकार, घनत्व, तापमान र रासायनिक संरचना पत्ता लगाउने गर्छन्। पछिल्ला अवलोकनहरूमा केटु-१८ बी रातो बौना ताराको अगाडि पुगेको बेला डिएमएस र डिएमडिएसले सोस्ने तरंगदैर्ध्यहरू अचानक घटेको देखियो।

‘त्यो संकेत निकै बलियो र स्पष्ट थियो,’ मधुसूदनले भने। ‘यदि हामीले वासयोग्य ग्रहमा यस्ता अणुहरू पत्ता लगाउन सक्यौं भने, यो हाम्रो प्रजातिको इतिहासमै पहिलो पटक भएको हो… यस्तो सम्भव भएको कुरै दिमाग घुमाउने खालको हो।’

‘दि एस्ट्रोफिजिकल जर्नल लेटर्स’मा प्रकाशित भएको अनुसन्धान अनुसार केटु-१८ बी मा डिएमएस, डिएमडिएस वा दुवैको मात्रा पृथ्वीको तुलनामा हजारौं गुणा बढी देखिएको छ। यी नतिजा ‘थ्री सिग्मा’ स्तरको तथ्याङ्कीय विश्वसनीयता (०.३ प्रतिशत सम्भावना कि यो संयोग मात्र हो) सँग प्रस्तुत गरिएको छ, जुन यथार्थ प्रमाणका लागि वैज्ञानिक मानक पुग्दैन।

‘यस्ता अणुहरू उत्पादन गर्ने हामीलाई थाहा नभएका प्रक्रिया हुनसक्छन्,’ मधुसूदनले भने, ‘तर यस्ता अणुहरू बिना जैविक प्रक्रियाको उत्पादन हुने कुनै पनि ज्ञात विधि छैन।’

केटु-१८ बी मा वास्तवमै कस्तो अवस्था छ भन्नेबारे अझै विवाद छन्। केही वैज्ञानिकहरूले यसलाई पानीयुक्त महासागर भएको ग्रह मान्दा अरूले ग्यासीय ग्रह वा म्याग्माबाट बनेको महासागर भएको ग्रहका रूपमा पनि देखिरहेका छन्।

डिएमएस धूमकेतुबाट आएकाे हुनसक्ने भन्ने अनुमान पनि गरिएको छ। तर त्यसका लागि असाधारण रूपमा तीव्र बमबारीको आवश्यकता पर्छ, जुन असम्भाव्य देखिन्छ। अर्को सम्भावना भनेको डिएमएस हाइड्रोथर्मल भेन्ट, ज्वालामुखी वा असामान्य रासायनिक प्रक्रियाद्वारा उत्पादित भएको हुनसक्छ।

‘जीवन एउटा विकल्प हो, तर धेरै मध्येको एक मात्रै हो,’ स्विजरल्यान्डको युनिभर्सिटी अफ बर्नकी भौतिकशास्त्री तथा रसायनविद् डा. नोरा हेनीले भनिन्, ‘हामीले जीवन भन्ने दाबी गर्नुअघि अरू सबै विकल्पहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्न सक्नुपर्छ।’

अन्य वैज्ञानिकहरूको भनाइमा ग्रहको वायुमण्डलको विश्लेषणले जीवनको ठोस प्रमाण कहिल्यै दिन सक्दैन। टेक्सस विश्वविद्यालयकी खगोलशास्त्री डा. क्यारोलिन मोर्लेले भनिन्, ‘जीवनको प्रमाण खोज्ने क्रममा अझै कम मूल्यांकन भएको विकल्प हो टेक्नोसिग्नेचर—जस्तै कुनै उच्च विकसित सभ्यताबाट पठाइएको सन्देश जस्तै। यस्ता संकेत भेटिने सम्भावना कम भए पनि त्यस्ता प्रमाण बढी विश्वसनीय हुन सक्छन्।’

‘ओपन युनिभर्सिटी’की ग्रह वैज्ञानिक डा. जो बार्स्टोले पनि डिएमएस र डिएमडिएसको पहिचान महत्वपूर्ण उपलब्धि भएको बताइन्। तर उनले थपिन्, ‘जीवनको प्रमाण सम्बन्धी कुनै दाबीप्रति मेरो सन्देहको सूचक सधैँ ११ (उच्चतम) मा हुन्छ। म अन्यत्र जीवन छ भन्ने मान्दिन भन्ने होइन, तर यति गहिरो र महत्वपूर्ण दाबीका लागि प्रमाणको स्तर असाधारण रूपले उच्च हुनुपर्छ। यो पछिल्लो काम अझै त्यो तहमा पुगेको छैन।’

पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको यो ग्रहमा नजिकबाट अवलोकन गरेर विवाद टुंग्याउने कुनै सम्भावना छैन। तर मधुसूदनले भने, ‘खगोलशास्त्रमा प्रश्न सधैँ त्यहाँ जानेबारे हुँदैन। हामी यसमा लागेको छौं कि जीवनका नियमहरू ब्रह्माण्डभर समान छन् कि छैनन्। म यसलाई यस्तो रूपमा हेर्दिन कि “हामीले त्यहाँ पुगेर माछा समात्नैपर्छ।”

यो समाचार बेलायतबाट प्रकाशन हुने गार्डियन पत्रिकाबाट अनुवाद गरिएको हो ।

तपाईको प्रतिक्रिया